कपिलवस्तुको चन्द्रौटामा रहेको एक सुनचाँदी पसलमा चोरी गरेको आरोपमा दुई जना पाकिस्तानी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ग्राहकको रूपमा पसलमा प्रवेश गरेका ती महिलाहरूले सुन किन्ने बहानामा विभिन्न गहना हेर्ने क्रममा चोरी गरेको बताइएको छ। चोरीपछि पसलबाट बाहिर निस्किँदा उनीहरूले मास्कमाथि बुर्का लगाएर आफ्नो पहिचान लुकाउने प्रयास गरेका थिए।
पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि तत्काल बजार क्षेत्रमा खोजी गरेका थिए। केही पर पुगेपछि ती महिलाहरू फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि उनीहरूलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये कलसुम र सहबाना नामका महिलाको साथबाट पाकिस्तानको पासपोर्ट समेत बरामद भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०८३ बैशाख १ गते

