काठमाडौं । निर्देशक रमेश कोइरालाले निर्देशन गरेको फिल्म ‘बिगुल’ ले आइएनआइको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा विशेष शो आयोजना गरेको छ। सेलिब्रेटी र फिल्मप्रेमीले उपस्थित भएर फिल्मको समसामयिक राजनीतिक कथावस्तुबारे चर्चा गरे।
सुपरहिट फिल्म ‘परान’ का निर्देशक दीपक आचार्य ‘काकु’ले फिल्मबारे टिप्पणी गर्दै भने, “यो फिल्म हेरेर भोट हाल्न जानुहोला।” उनले फिल्मले वर्तमान राजनीतिक परिवेशलाई सटीक र रोचक तरिकाले समेटेको बताए।
अभिनेता नरेन खड्काको अभिनयको प्रशंसा गर्दै उनले भने, “उहाँले आफूलाई प्रमाणित गरिसक्नुभएको छ। धेरै शुभकामना।”
अर्का अभिनेता जयकिशन बस्नेतले फिल्म हेर्दा आफूलाई मुलुकको राजनीति प्रत्यक्ष रूपमा देखिएको जस्तो अनुभव भएको बताए। उनले भने, “कतिपय क्यारेक्टर हाम्रै देशका नेताजस्तो लाग्यो।”
निर्देशक घनश्याम खतिवडाले भने, “फिल्ममा प्रस्तुत सामग्री आममानिसको मन र मस्तिष्कको कुरा हो। सबैले हेर्नैपर्ने फिल्म बनेको छ। चुनावअघि हेरेर आफूले कसरी मतदान गर्ने र कुन उम्मेदवार छान्ने भन्ने निर्णयमा यो फिल्म कलात्मक तरिकाले सहयोग पुर्याउँछ।”
फिल्म ‘बिगुल’ मा नरेन खड्का र बेनिशा हमालले शीर्ष भूमिका निर्वाह गरेका छन्। यस फिल्मले भ्रष्टाचार, राजनीतिमा युवाको हस्तक्षेप, र बेथितिविरुद्धको युवा आक्रोश जस्ता समसामयिक विषयवस्तु समेटेको छ।
हाल यो फिल्म नेपालभरका हलमा प्रदर्शनमा जारी छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
प्रकाशित मिति: २०८२ फाल्गुन ५ गते


