नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गरिएको टिकट वितरण प्रक्रियाप्रति असहमति जनाएको छ।
क्षेत्रीय सभापति अब्दुल मन्नान खाँको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनीतिक अवस्था, स्थानीय परिस्थिति र जनभावनालाई ध्यानमा राख्दै तीन जना युवा आकांक्षी उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाइएको भए पनि क्षेत्रीय कार्यसमिति र प्रतिनिधिहरूको सिफारिस तथा निर्धारित प्रक्रिया बाहिर गएर केन्द्रबाट टिकट वितरण गरिएको भन्दै आपत्ति जनाएको हो।
क्षेत्रीय सचिव कृष्ण चौधरीका अनुसार छनोट प्रक्रिया र सिफारिसलाई बेवास्ता गरी गरिएको टिकट वितरणले कपिलवस्तु क्षेत्रका नेता तथा कार्यकर्तामा असन्तुष्टि, निराशा र आन्तरिक विभाजन बढ्ने जोखिमप्रति बैठकले चिन्ता व्यक्त गरेको छ।
नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार बनेका अतहर कमाल मुसलमानको चुनावी गतिविधिलाई लिएर पार्टीभित्र असन्तुष्टि बढ्दै गएपछि क्षेत्रगत रूपमा बैठकसमेत नियमित रूपमा बस्न नसकेको बताइएको छ।
प्रकाशित मिति: २०८२ माघ २७ गते


