निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थानीय प्रशासनले सचेत गराएको छ। पछिल्ला केही दिनदेखि चितवन र नवलपरासी क्षेत्रमा चुनावलक्षित कार्यक्रममा सक्रिय देखिएका लामिछानेलाई नवलपरासी पश्चिम प्रशासनले औपचारिक पत्रमार्फत आचारसंहिता पालना गर्न आग्रह गरेको हो।
नवलपरासी पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले पठाएको पत्रमा निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न र कानुनी मापदण्डभित्र रहेर कार्यक्रम सञ्चालन गर्न ध्यानाकर्षण गराइएको छ।
रास्वपाले मंगलबार पश्चिम नवलपरासीमा आयोजना गर्न लागेको चुनावलक्षित कार्यक्रममा सहभागी हुन लामिछाने तयारी अवस्थामा छन्। यसअघि सोमबार सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तारिख बुझ्न जिल्ला अदालत रुपन्देही पुगेका लामिछानेले त्यसक्रममा रुपन्देहीका विभिन्न निर्वाचन क्षेत्रमा पुगेर समर्थकहरूलाई सम्बोधन गरेका थिए।
उनकै उपस्थितिमा आज पनि नवलपरासी पश्चिममा कार्यक्रम आयोजना गरिने भएपछि प्रशासनले विशेष चासो देखाउँदै आचारसंहिता पालना गर्न सचेत गराएको जनाएको छ।
प्रकाशित मिति: २०८२ माघ २७ गते


