कपिलवस्तु । प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा कपिलवस्तु जिल्लामा निर्वाचन आचारसंहिता सम्बन्धी कार्यशाला तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

स्वास्थ्य प्रवर्द्धन र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखा, सिद्धिपुरमा सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा जम्मा ३१ प्वाइन्ट रगत संकलन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सञ्चार माध्यम समाज परिवर्तनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै निर्वाचनको संवेदनशील समयमा पत्रकारहरूले निष्पक्ष, तथ्यपरक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले लोकतन्त्रलाई मजबुत बनाउन स्वतन्त्र, मर्यादित र उत्तरदायी प्रेस अनिवार्य रहेको भन्दै प्रेस चौतारीद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको उदाहरणीय अभ्यासका रूपमा प्रशंसा गरे ।
कार्यक्रममा नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीका सचिव चन्द्र बहादुर गहतराजले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको धारणा व्यक्त गरे । निर्वाचनजस्तो संवेदनशील समयमा आचारसंहिता सम्बन्धी सचेतना र सामाजिक सेवालाई एकसाथ अघि बढाउनु प्रेस चौतारीको प्रशंसनीय पहल भएको उनले बताए । यस्ता गतिविधिले पत्रकारिताप्रति आम नागरिकको विश्वास अझ सुदृढ बनाउने उनको भनाइ थियो ।
यसैगरी प्रेस चौतारी नेपाल कपिलवस्तु जिल्ला इन्चार्ज रामप्रकट कोरीले प्रेस चौतारी पत्रकारहरूको संगठन मात्र नभई सामाजिक रूपान्तरणको अभियानसमेत भएको उल्लेख गरे । उनले श्रमिक पत्रकारहरूको हकहितको संरक्षणसँगै समाजप्रतिको उत्तरदायित्व वहन गर्नु नै प्रेस चौतारीको मौलिक पहिचान भएको स्पष्ट पार्दै निर्वाचन अवधिमा सत्य, सन्तुलित र जिम्मेवार सूचना प्रवाह गर्नु संगठनको प्रमुख दायित्व भएको बताए ।
कार्यक्रमका अध्यक्ष तथा प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीले प्रेस चौतारी श्रमिक पत्रकारहरूको साझा संस्था भएको उल्लेख गरे । स्थापना दिवसका अवसरमा हरेक वर्ष सामाजिक, जनचेतनामूलक तथा पेशागत मर्यादासँग सम्बन्धित कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएको जानकारी दिँदै उनले निर्वाचनमा पत्रकारहरूले आचारसंहिता पालना गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: २०८२ माघ २३ गते


