निर्वाचन सुरक्षामा कडा व्यवस्था : बुधबारदेखि सेना नेतृत्वमा चार सुरक्षा निकाय मैदानमा

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले बुधबारदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय एकीकृत रूपमा परिचालन हुने भएका छन्।

सरकारले निर्वाचन अवधिको शान्ति सुरक्षा सुदृढ बनाउन यसअघि नै प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ। निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्था थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालित हुन लागेका हुन्।

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटाइनेछन्। योजनाअनुसार मतदान स्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सशस्त्र प्रहरीले नेपाल प्रहरी र नेपाली सेनासँग समन्वय गर्दै सुरक्षा व्यवस्थापन गर्ने जनाइएको छ।

नेपाली सेना बाहिरी घेरामा रही सुरक्षा व्यवस्थाको मुख्य जिम्मेवारी सम्हाल्ने छ। सेनाले बुधबारदेखि १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना टोली परिचालन गर्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि सेनालाई परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको थियो।

सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षालाई केन्द्रित गर्दै आवश्यकताअनुसार सेनाको ‘बेस’ खडा गरिने र आवश्यकता अनुसार संयुक्त गस्ती पनि गरिनेछ। सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।

योजनाअनुसार सेनाले निर्वाचनको सुरक्षामा तीन चरणमा काम गर्ने बताइएको छ। निर्वाचनपूर्व मतपत्र छपाइ तथा ढुवानी, मतदान स्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थलको सुरक्षासम्म सेनाको भूमिका रहनेछ। साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा विमानस्थल, कारागार लगायत महत्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ।

मतदानका दिन सेनाले तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने जनाइएको छ।

यसपटकको निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। आयोगका अनुसार यस निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन्।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट ७७ हजार जनशक्ति परिचालन गरिनेछ। विद्यमान जनशक्तिले मात्रै अपुग हुने भन्दै एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ।

मतदान स्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ। जसअनुसार २ हजार ८४५ मतदान स्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० मतदान स्थल अति संवेदनशील सूचीमा रहेका छन्।

सशस्त्र प्रहरी बल नेपालबाट ३४ हजार ५७६ र १५ हजार ११० निर्वाचन प्रहरी गरी कुल ४९ हजार ६८६ जनशक्ति परिचालन हुने जनाइएको छ। सशस्त्र प्रहरीले निर्वाचन अवधिमा कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यक परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी टोली परिचालन गरिएको जनाएको छ।

प्रकाशित मिति: २०८२ माघ २१ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी