काठमाण्डौमा आजदेखि मौसम क्रमिक रूपमा सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका धेरै स्थानमा मौसम सफा रहने र घाम लाग्ने सम्भावना छ।
आज केही ठाउँमा बदली देखिए पनि त्यो दिनभरि नटिक्ने र अधिकांश स्थानमा घाम लाग्ने मौसमविद्हरूले बताएका छन्। हिजो कतैकतै छिटपुट वर्षा भएको थियो भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि परेको थियो। बदलीसहित वर्षा र हिमपात गराएको प्रणाली कमजोर भइसकेकाले मौसम सुधारतर्फ गएको महाशाखाको भनाइ छ।
यद्यपि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण बागमती र गण्डकी प्रदेशलगायत पहाडी तथा हिमाली क्षेत्रमा बिहान बादल लागेको छ। साथै तराईका केही स्थानमा आज दिउँसोसम्म हुस्सु तथा कुहिरो कायमै रहने अनुमान गरिएको छ।
माघ लागेपछि देशका पश्चिम तथा उच्च क्षेत्रमा यो तेस्रो पटक हिमपात र वर्षा भएको हो।
यसैबीच, आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस रहेको थियो।
प्रकाशित मिति: २०८२ माघ २१ गते


