कपिलवस्तुमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीलाई नागरिकप्रति उत्तरदायी भई सेवा प्रवाहमा खटिन निर्देशन दिएका छन्।
चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गर्दै महानिरीक्षक कार्कीले सेवा प्रदायक निकायले पीडितमैत्री भावना, समानता र निष्पक्ष दृष्टिकोणका साथ न्याय दिनुपर्नेमा जोड दिए। उनले मानिसको बोलीमा रस पनि हुने र विष पनि हुने उल्लेख गर्दै पीडितलाई न्याय दिलाउने कार्यमा संवेदनशीलता आवश्यक रहेको बताए।
महानिरीक्षक कार्कीले नागरिकप्रतिको कर्तव्य नै प्रहरीको मुख्य जिम्मेवारी भएको भन्दै त्यो कुरा कहिल्यै भुल्न नहुने बताए।
नवनिर्मित सुविधा सम्पन्न भवन निर्माणसँगै प्रहरीको सेवा विस्तार सहज भएको र प्रहरी थप उत्प्रेरित हुने विश्वास उनले व्यक्त गरे। जनताको सेवामा २४ सै घण्टा खटिने प्रहरीका लागि यस्ता भौतिक संरचनाले काम गर्न थप सहजता ल्याउने उनले बताए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मुलुकका संवेदनशील वर्ग तथा भविष्य भएकाले उनीहरूको सेवा र सुरक्षामा प्रहरी अझ बढी सचेत भएर काम गर्नुपर्ने महानिरीक्षक कार्कीको भनाइ थियो।
यूएनओपीएसको सहयोगमा १२ कोठे उक्त भवन २ करोड ३६ लाख रुपैयाँ लागतमा १२ महिनामा निर्माण सम्पन्न भएको जनाइएको छ।
कार्यक्रममा यूएनओपीएस नेपाल कन्ट्री म्यानेजर कोमल कार्की, प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा तथा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले पनि मन्तव्य राखेका थिए।
प्रकाशित मिति: २०८२ माघ २१ गते


