कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारहरूबीचको प्रतिस्पर्धा दिनप्रतिदिन रोचक बन्दै गएको छ। यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर भेटघाट, संवाद र प्रचार–प्रसारमा सक्रिय देखिएका छन्।
कपिलवस्तु–१ मा नेकपा एमालेका विश्राम प्रसाद थारु, नेपाली कांग्रेसका अतहर कमाल मुसलमान, रास्वपाबाट मोहनलाल आचार्य, नेकपाबाट कृष्ण बहादुर कुँबर र स्वतन्त्र उम्मेदवार आशिष शर्मा बीच मुख्य प्रतिस्पर्धा रहेको बताइन्छ। उम्मेदवारहरूको प्रचार शैली भने आ–आफ्नै तरिकाको रहेको छ।
युवा उम्मेदवार आशिष शर्माको फरक शैली
फरक चुनावी शैली अपनाउने उम्मेदवारमध्ये युवा नेता आशिष शर्मा पनि एक हुन्। ४६ वर्षीय शर्मा नेपाली कांग्रेसका युवा नेता हुन्। उनी युवा, विद्यार्थी, महिला, किसान तथा मजदुर समुदायबीच लोकप्रिय रहेको बताइन्छ।
शर्माले विगतमा कपिलवस्तु कृषि तारा कार्यक्रम, एसईईमा उत्कृष्ट विद्यार्थीलाई ट्याब वितरण तथा सम्मान, कृषि उत्पादन प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान पुर्याएको दाबी गर्दै आएका छन्।
कपिलवस्तु–१ अन्तर्गत ३० वटा वडा पर्दछन्। यहाँ पुराना दलहरूले संगठन परिचालन गरेर घरदैलो अभियान चलाइरहेका छन् भने नयाँ र स्वतन्त्र उम्मेदवारहरू प्रत्यक्ष घर–घरमै पुगेर मतदातासँग संवादमा जुटिरहेका छन्।
कांग्रेसबाट टिकट पाउने सम्भावनामा अगाडि रहे पनि अन्तिम समयमा जिल्ला नेतृत्वको निर्णयअनुसार टिकट नपाएपछि शर्मा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका हुन्। उनले पार्टी नछोडी कांग्रेसजन, शुभेच्छुक तथा मतदाताको साथमा उम्मेदवारी दिएको बताएका छन्।
सामाजिक सञ्जालमै चुनावी तालिका सार्वजनिक
आशिष शर्माको प्रचार–प्रसारको शैली अन्य उम्मेदवारभन्दा केही फरक देखिएको छ। उनले दैनिक कार्यतालिका बनाएर घरदैलो अभियान अघि बढाइरहेका छन्। घरदैलो कार्यक्रमको तालिका सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उत्तरदेखि दक्षिणसम्मका सबै वडामा ‘क्रस मोडल’मार्फत मतदाता भेटघाट गरिरहेको उनले बताएका छन्।
देशभित्र तथा विदेशमा रहेका युवा मतदातासँग जोडिन उनले जुममार्फत संवादको आव्हानसमेत गरेका छन्।
शर्माको फेसबुक अकाउन्ट पनि निकै सक्रिय रहेको छ। उनले दैनिक चुनावी गतिविधिका अपडेट पोस्ट गर्दै आएका छन्। केही दिनअघि उनले सामाजिक सञ्जालमा “संयमित र मितव्ययी निर्वाचन नै असल राजनीतिको सुरुवात हो। सुशासनको नयाँ अध्यायमा यहाँहरूको सुझाव, सल्लाह र साथको अपेक्षा गर्दछु” भन्दै स्टाटस लेखेका थिए।
उनले आफू ठूलो संगठनको सहारामा नभई जनताको माया र समर्थनकै बलमा चुनावी मैदानमा रहेको दाबी गरेका छन्। उनका अनुसार स्वतःस्फूर्त रूपमा शुभेच्छुक युवाहरूले सामाजिक सञ्जालमा विभिन्न अभियान अकाउन्टहरू बनाएर प्रचार गरिरहेका छन्।
एजेण्डा : शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार
आशिष शर्माले किसान, युवा, महिला तथा ज्येष्ठ नागरिकसँग घर–खेतमै पुगेर विकासका एजेण्डा प्रस्तुत गर्दै आएका छन्। कपिलवस्तुमा पछाडि परेको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ।
“मैले विगतमा पनि काम गरेको छु, अब पनि गरेर देखाउँछु,” उनले भनेका छन्।
प्रकाशित मिति: २०८२ माघ २१ गते


