आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कपिलवस्तु जिल्लामा आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ। मतदाता भेटघाट, घरदैलो अभियान तथा संगठन विस्तारका कार्यक्रममार्फत पार्टीले चुनावी माहोल थप मजबुत बनाउँदै लगेको छ।
यसैक्रममा सोमबार एकैदिन सुद्धोधन गाउँपालिकाको लवनी र मायादेवी गाउँपालिकाको पकडीमा राप्रपाका सम्पर्क कार्यालयहरूको उद्घाटन गरिएको छ। एक विशेष समारोहबीच पार्टीका केन्द्रीय सदस्य ध्रुव रायमाझीले दुवै सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रायमाझीले राप्रपा राष्ट्रियता, धर्म, संस्कृति र सुशासनको संरक्षणलाई मूल एजेण्डा बनाएर जनतामाझ गएको बताउनुभयो। उहाँले वर्तमान राजनीतिक अवस्थाबाट जनता निराश भएको उल्लेख गर्दै वैकल्पिक शक्तिको रूपमा राप्रपा भरोसायोग्य विकल्प बन्दै गएको दाबी गर्नुभयो।
उहाँले निर्वाचन मात्रले देशको समस्या समाधान नहुने जिकिर गर्दै तत्काल राजा, सरकार र जनताबीच समझदारी आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, चुनाव नजिकिँदै मात्र देखिने ‘टुरिस्ट उम्मेदवार’ भन्दा यही क्षेत्रका जनताको दुःख–सुख बुझ्ने स्थानीय उम्मेदवारलाई मतदान गर्नुपर्ने धारणा राख्नुभयो।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार शत्रुधन विलास सिंह कर्मीले सम्पर्क कार्यालयहरू पार्टीको नीति, सिद्धान्त र चुनावी प्रतिबद्धता जनतासम्म पुर्याउने प्रभावकारी माध्यम हुने बताउनुभयो। उहाँले स्थानीय विकास, रोजगारी सिर्जना, कृषि तथा शिक्षा क्षेत्रको सुधारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएको बताउँदै उहाँले सबै मतदातालाई मतदान गरी विजयी गराउन अपिल गर्नुभयो।
कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, संगठन विभाग प्रमुख राजेन्द्र विक्रम शाहलगायत अन्य नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। उनीहरूले राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको बताउँदै घरदैलो अभियानलाई अझ व्यापक बनाइने जनाए। सम्पर्क कार्यालयहरूलाई संगठन सुदृढीकरण र मतदाता समन्वयको केन्द्रका रूपमा प्रयोग गरिने पनि स्पष्ट पारिएको छ।
राप्रपाले आगामी दिनहरूमा कपिलवस्तुका विभिन्न स्थानमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
प्रकाशित मिति: २०८२ माघ २० गते


