नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किज्मका नाममा नेपाली समाजलाई विभाजित गर्ने दुष्प्रयास भइरहेको टिप्पणी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवापुस्ताको भावनामा खेल्दै विदेशी शक्तिले देशमाथि प्रभाव जमाउने प्रयास गरिरहेको आरोप लगाए।
उनले जेन–जी आन्दोलनको नाममा युवाहरूलाई प्रयोग गरी देशविरोधी शक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको दाबी गरे। भदौ २३ र २४ गते भएका घटनाहरू त्यसैको उदाहरण भएको उल्लेख गर्दै उनले ती घटनामा जेन–जी युवाहरूको आन्दोलन अपहरण गरी बाह्य शक्तिको प्रभावमा पारिएको बताए।
महासचिव पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचन राष्ट्रहितमा उभिने शक्ति र विदेशी इसारामा देशलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन चाहने शक्तिबीचको संघर्षका रूपमा बुझ्नुपर्ने धारणा राखे।
आगामी निर्वाचनलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको छनोटका रूपमा जनतामाझ प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले देश निर्माणको पक्षमा उभिने शक्तिलाई समर्थन गर्न युवाहरूलाई आग्रह गरे।
मुलुकलाई समृद्धिको बाटोमा लैजान जलाउने होइन, बनाउने शक्तिको आवश्यकता रहेको बताउँदै उनले युवाहरूलाई राष्ट्रहितको पक्षमा सक्रिय भूमिका खेल्न आह्वान गरे।
महासचिव पोखरेलले राजनीतिक दलहरूसँगै राज्यसत्तामाथि भएको प्रहार देशभक्त नागरिकले गर्न नसक्ने भन्दै यसमा विदेशी शक्तिको संलग्नता हुन सक्ने आशंका पनि व्यक्त गरे।
प्रकाशित मिति: २०८२ माघ १६ गते


