आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ मा क्षेत्रीय प्रचारप्रसार समिति गठन गरिएको छ। कपिलवस्तुको तौलिहवास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा सम्पन्न भेलाले कांग्रेस नेता तथा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठको नेतृत्वमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको हो।
भेलाले परिवर्तित कांग्रेस नयाँ जोश, जाँगर र उत्साहका साथ पार्टीका उम्मेदवार सुरेन्द्रराज आचार्यलाई विजयी गराउन हरसम्भव प्रयास गर्ने निर्णयसमेत गरेको छ।
कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस नेता श्रेष्ठले मधेसको भावना प्रयोग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसको पुत्रको रूपमा चर्चा गर्दै बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नु कुनै नयाँ विषय नभएको टिप्पणी गर्नुभयो। उहाँले नेपाली कांग्रेसले यसअघि नै देशको सर्वोच्च पद राष्ट्रपतिमा मधेसी समुदायका रामवरण यादवलाई निर्वाचित गराइसकेको स्मरण गराउनुभयो।
श्रेष्ठले मधेसमा कांग्रेसको बलियो पकड रहेको उल्लेख गर्दै पार्टीले सधैं मधेसको सम्मान गर्दै आएको बताउनुभयो। नयाँ दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी हाल चर्चामा रहे पनि उसले देशका लागि ठोस काम गर्न नसक्ने दाबी उहाँले गर्नुभयो। उहाँका अनुसार बालेन शाह चर्चित भए पनि परिपक्व नेता नभएको र रवि लामिछाने स्वयं सहकारीसम्बन्धी मुद्दामा आरोपित रहेकाले जनताले यस्ता विषयलाई राम्ररी बुझेका छन्।
श्रेष्ठले कांग्रेस सशक्त बन्दै गएको र भावी प्रधानमन्त्रीका रूपमा पार्टी सभापति गगन थापालाई अघि सारेपछि देशभर कांग्रेसप्रति सकारात्मक माहोल बनेको जिकिर गर्नुभयो। उहाँले लोकतन्त्र, स्थायी शान्ति, सुशासन र विकासका लागि नेपाली कांग्रेसलाई मतदान गर्न मतदातासमक्ष आग्रह गर्नुभयो।
साथै, साना विवाद र असहमति बिर्सेर पार्टीलाई थप मजबुत बनाउन सबै नेता–कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलाम, नगर सभापति खुर्सेद अहमद खाँ, रवि ठाकुर, दिनेश पाण्डेय, रिना नेपाल, प्रकाश गैरेलगायत वक्ताहरूले पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिनुभएको थियो।
प्रकाशित मिति: २०८२ माघ १४ गते


