कपिलवस्तु जिल्लामा पछिल्लो छ महिनाको अवधिमा ३९ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म उक्त संख्यामा नयाँ कुष्ठरोगी पहिचान भएका हुन्।
स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै महाराजगंज नगरपालिकामा ११ जना कुष्ठरोगी भेटिएका छन्। नयाँ ३९ बिरामी थपिएसँगै चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्लामा कुष्ठरोगीको कुल संख्या १६७ पुगेको प्रमुख ढकालले जानकारी दिनुभयो। हाल फेला परेका सबै ३९ जना बिरामी उपचारको क्रममा रहेका छन्।
७३औँ कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा रोगको अवस्थाबारे जानकारी गराउँदै प्रमुख ढकालले विगतको तुलनामा कुष्ठरोगीको संख्यामा केही कमी आएको भए पनि समस्या पूर्ण रूपमा समाधान भइनसकेको बताउनुभयो।
गत आर्थिक वर्षमा कपिलवस्तु जिल्लामा १८८ जना कुष्ठरोगी फेला परेका थिए। उक्त अवधिमा सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा २१ जनामा कुष्ठरोग देखिएको थियो। त्यसैगरी बिजयनगर गाउँपालिकामा २० जना, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकामा १५/१५ जना, महाराजगंज नगरपालिका र शुद्धोधन गाउँपालिकामा १३/१३ जना, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकामा ११/११ जना, बाणगंगा नगरपालिकामा ६ जना तथा मायादेवी गाउँपालिकामा ३ जना कुष्ठरोगी भेटिएका थिए।
सरकारले करिब १६ वर्षअघि नेपाललाई कुष्ठरोग निवारण भएको देश घोषणा गरे पनि कपिलवस्तु सहित केही जिल्लामा अझै पनि कुष्ठरोगी देखिने गरेको छ। ग्रामीण भेगमा कुष्ठरोग लागेमा लुकाउने प्रवृत्ति कायमै रहेकाले समयमै उपचार नपाउँदा समस्या जटिल बन्दै गएको ढकालको भनाइ छ। उहाँले कुष्ठरोगको आशंका लागेमा ढिला नगरी स्वास्थ्य संस्थामा जाँच गराउन सबैलाई आग्रह गर्नुभयो।
चिकित्सकहरूका अनुसार चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ। समयमै उपचार भएमा अङ्गभङ्ग हुने जोखिमबाट पनि बच्न सकिने उनीहरू बताउँछन्। कुष्ठरोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा निःशुल्क उपलब्ध रहेको छ।
आर्थिक वर्ष २०८१/८२ मा कपिलवस्तु जिल्लामा नयाँ कुष्ठरोगी पत्ता लागेको दर प्रति एक लाख जनसंख्यामा १८.१ रहेको छ भने कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा १.६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। त्यस्तै, नयाँ कुष्ठरोगीमध्ये ग्रेड–२ अपांगता दर २.३ प्रतिशत रहेको छ।
प्रकाशित मिति: २०८२ माघ १४ गते


