कुरा नेपाल बुद्धभूमि ।
स्वर्गीय रामहरि रिजालको दोस्रो पुण्यतिथिको अवसरमा बुद्धभूमि नगरपालिका–१ शान्तिपुरस्थित क्रियापुत्री भवनलाई ग्यास चुलो सहयोग प्रदान गरिएको छ।
स्वर्गीय रिजालका छोरा कमल रिजालले शोकमा रहेका परिवार तथा क्रियापुत्रीलाई खाना पकाउन सहज होस् भन्ने उद्देश्यले उक्त ग्यास चुलो प्रदान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार दुखको समयमा सामूहिक रूपमा प्रयोग हुने क्रियापुत्री भवनमा आधारभूत सामग्रीको अभाव नहोस् भन्ने सोचले सहयोग गरिएको हो।
कमल रिजालले सानो–सानो सहयोगबाट पनि गाउँ–ठाउँको विकास सम्भव हुने उल्लेख गर्दै, “यो स्थान सबैलाई आवश्यक पर्ने साझा स्थल हो, एक न एक दिन हामी सबैले नै यसको प्रयोग गर्नुपर्ने हुन्छ,” भन्नुभयो। त्यसैले सामूहिक हितका लागि सहयोग गर्न आफूले पहल गरेको उहाँको भनाइ छ।
स्थानीयले स्वर्गीय रामहरि रिजालको स्मृतिमा गरिएको उक्त सहयोगले क्रियापुत्री भवनको व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: २०८२ माघ १ गते


