काठमाडौँ । नेकपा (एमाले) का नेता तथा निवर्तमान सांसद बासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन्। उनले आम नागरिकको अपेक्षा र चाहनालाई सम्बोधन गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै मंगलबार राति पार्टी परित्यागको घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै घिमिरेले भनेका छन्,
“पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकका आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग भएको छु।”
घिमिरे अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–५ बाट निर्वाचित सांसद थिए। तर, पछिल्लो राजनीतिक परिस्थितिपछि उनले वैकल्पिक राजनीतिक धार रोजेको जनाइएको छ।
स्रोतका अनुसार, घिमिरे अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–२ निर्वाचन क्षेत्रबाट आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका छन्। उल्लेखनीय छ, उक्त निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचनमा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल निर्वाचित भएका थिए।
घिमिरेको यो निर्णयले रुपन्देहीको राजनीतिक समीकरणमा नयाँ तरंग सिर्जना गर्ने विश्लेषण गरिएको छ।
प्रकाशित मिति: २०८२ पुष १६ गते


