नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको बन्द सूचीमा कपिलवस्तुका दुई व्यक्तिको नाम समावेश गरेको छ।
कांग्रेसले कपिलवस्तुको बाणगंगा नगरपालिका निवासी बिमला गैरे र कृष्णनगरका अकिल मियाँलाई समानुपातिक सांसदको बन्दसूचीमा राखेको हो।
महाधिवेशन प्रतिनिधि समेत रहेकी बिमला गैरे नेपाली कांग्रेसभित्र एक क्षमतावान, सक्रिय तथा प्रभावशाली महिला नेतृका रूपमा परिचित रहँदै आएकी छन्। उनी विगत दशकौँदेखि कांग्रेसको संगठन र राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएकी छिन्। गैरेको नाम समानुपातिक बन्दसूचीमा परेपछि कांग्रेस कपिलवस्तुमा उत्साह र सकारात्मक सन्देश फैलिएको देखिएको छ।
यसैगरी, तरुण दलका केन्द्रीय सदस्य तथा क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्दै आएका अकिल मियाँ संगठन निर्माण, चुनावी व्यवस्थापन तथा विभिन्न स्थानीय आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका नेता हुन्। यद्यपि उनी अहिलेसम्म प्रत्यक्ष रूपमा राज्यसत्ताको केन्द्रमा पुग्न सकेका थिएनन्।
अकिल मियाँको समानुपातिक सूचीमा समावेशीकरणलाई पार्टी वृत्तमा ‘संघर्षबाट संसदसम्मको यात्रा’का रूपमा हेरिएको छ। यसले पार्टीभित्र लामो समयदेखि योगदान दिएका कार्यकर्ताको सम्मान भएको सन्देश पनि दिएको छ।
प्रकाशित मिति: २०८२ पुष १६ गते


