कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा आज बिहान भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। दुर्घटना बिहीबार बिहान करिब २ बजे भएको हो।
काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रु बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जानकारी दिएको छ। बसले बाटोमा हिँडिरहेका एक पैदल यात्रुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका ती पुरुषलाई उपचारका लागि चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।
मृतकको नाम र ठेगाना हालसम्म खुलेको छैन। दुर्घटनामा बसमा सवार पाँचजना यात्रु घाइते भएका छन्। उनीहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रहरीले उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०८२ कार्तिक १३ गते


