विराटनगर । जेन्जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर चर्चामा आएका झापा दमक नगरपालिका–३ का १८ वर्षीय आदित्य लिम्बु खैरो हिरोइनसहित पक्राउ परेका छन्।
भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा लिम्बुले इलाका प्रहरी कार्यालय दमकका प्रहरीको हतियार खोसी भिडियो खिचेका थिए। उनले हतियार बोकेर फोटो खिचेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार, आदित्यसहित आठ जनाको समूहलाई लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ गरिएको हो।
शनिबार साँझ करिब ५ बजे दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर ए–३ हट नम्बर ३५३ मा लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाइएको अवस्थामा खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थको तौल ७ ग्राम ८ सय मिलिग्राम रहेको पाइएको हो।
पक्राउ परेकामध्ये मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल पनि रहेका छन्, जो गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट भागेका फरार अभियुक्त हुन्।
अन्य पक्राउ पर्नेहरूमा साजन थापा (२७), दिपेश तामाङ (३२), सनम राई (३२), पविन विश्वकर्मा (१९), सुचन दर्जी (२५) र विजय माझी (२५) रहेका छन्।
प्रहरीका अनुसार, बरामद लागुऔषध र पक्राउ परेका सबै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित मिति: २०८२ आश्विन २६ गते


