कपिलवस्तुमा प्रहरीले एकैदिन तीन फरक घटनामा अवैध सामानसहित सवारीसाधन नियन्त्रणमा लिएको छ।
पहिलो घटनामा, बाणगंगा नगरपालिका–१ बैरिया क्षेत्रमा अवैध रूपमा गोरु ओसारपसार गर्ने मिनी ट्रक नियन्त्रणमा लिइएको हो।
ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले बा.प्र. ०३–००१ ख ३७५३ नम्बरको मिनी ट्रक रोकी जाँच गर्दा ९ वटा गोरु फेला पारेको प्रहरीले जनाएको छ।
तर, ट्रक चालकसहित तीन जना सवार व्यक्ति प्रहरी देखेपछि फरार भएका थिए।
बरामद गोरुहरूलाई असोज १४ गते बिहान बाणगंगा–२ कोठी खोलास्थित गौशालामा व्यवस्थापन गरिएको प्रहरीले बताएको छ।
दोस्रो घटनामा, सोही दिन बाणगंगा–४ दरखास्त चोकमा अवैध साल काठसहित एउटा ट्र्याक्टर नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३९ वर्षीय बासुदेव थारूले चलाएको लु ३ त ६९५ नम्बरको ट्र्याक्टरमा ६३.४२ क्यूफिट साल काठ फेला परेको थियो।
ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर सब–डिभिजन वन कार्यालय, पिपरामा बुझाइएको छ।
तेस्रो घटनामा, ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको अर्को टोलीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाणगंगा–७ का ३३ वर्षीय प्रकाश थारू र २८ वर्षीय केशव थारू रहेका छन्।
चेकजाँचका क्रममा प्रकाशको साथबाट ५५० मिलिग्राम र केशवको साथबाट ४५० मिलिग्राम तौलको “ब्राउन सुगर” जस्तो देखिने सेतो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवैको साथबाट ३,००० रुपैयाँ नगद पनि फेला परेको छ।
पक्राउ परेका व्यक्तिमाथि असोज १५ गतेदेखि १५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रकाशित मिति: २०८२ आश्विन २५ गते


