कपिलवस्तुमा राजस्व अनुसन्धान कार्यालय बुटवलले ठूलो मात्रामा कपडा बरामद गरेको छ। सोमबार दिउँसो करिब १ बजे शिवराज नगरपालिका–५, कटहनियास्थित एक घरमा छापा मार्दा २३ बोरा कपडा बरामद गरिएको हो।
राजस्व अनुसन्धान कार्यालयका अनुसार विशेष सुराकीका आधारमा टोली खटिएर उक्त घरमा छापा मारिएको थियो। छानबिनका क्रममा घरभित्र लुकाएर राखिएको कपडा फेला परेको र त्यसको स्रोत तथा बजार मूल्यबारे अनुसन्धान जारी रहेको बताइएको छ।
कार्यालय प्रमुख सुवास श्रेष्ठले बरामद कपडा राजस्व छलीको आशङ्कामा नियन्त्रणमा लिइएको जानकारी दिए। उनले भने, “प्रारम्भिक अनुसन्धानबाट कपडा अवैध रूपमा भण्डारण गरिएको शंका गरिएको छ। स्रोत खुलाउने र कर नतिरेको आशङ्कामा अनुसन्धान अघि बढाइएकाे छ।”

श्रेष्ठका अनुसार बरामद सामानको मूल्याङ्कन र त्यसमा संलग्न व्यक्तिहरूको पहिचानपछि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
स्थानीयका अनुसार उक्त घरमा लामो समयदेखि कपडा भण्डारण हुँदै आएको देखिन्थ्यो। राजस्व अनुसन्धान टोलीले कपडा नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि नमूना संकलनसमेत गरेको जनाएको छ।
प्रकाशित मिति: २०८२ आश्विन २० गते


