काठमाडौँ — बडादसैँको अवसरमा आज सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदैछ। यस दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा गर्ने परम्परा रहेको छ।
कालो वर्ण, गधा वाहन, तीन आँखा र चार हातसहितकी कालरात्रि देवीले क्रमशः तरवार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी हुन्छिन्। स्वरूप डरलाग्दो देखिए पनि उनी भक्तजनलाई शुभ फल दिने भएकाले ‘शङ्करी’ नामले पनि परिचित छन्। धार्मिक विश्वासअनुसार देवी कालरात्रिको स्मरण गर्दा दैत्य, राक्षस, भूतप्रेत भाग्ने मानिन्छ।
शास्त्रीय मान्यताअनुसार, सप्तमीको दिन देवी कालरात्रिको आराधनाले साहस, धैर्य र आत्मविश्वास प्रदान गर्ने विश्वास छ। साथै, जीवनका समस्याको समाधान र शत्रु नाश हुने भनाइ पनि प्रचलित छ। यस दिन देवीलाई सख्खर अर्पण गर्ने र गरिबलाई दान गर्ने परम्परा रहिआएको छ, जसले दरिद्रता निवारण हुने मान्यता छ।
फूलपातीका लागि नौ प्रकारका पत्रिका—केरा, काली बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोक, मानेकर्कलो र धानको उल्लेख शास्त्रमा पाइन्छ। पूजामा रातो–निलो वस्त्र, रातो फूल तथा नैवेद्य अर्पण गरिन्छ।
यसै दिन सरस्वती माताको पनि आराधना गर्ने चलन छ। साथै गोरखा दरबारबाट काठमाडौँ दरबारमा फूलपाती ल्याउने ऐतिहासिक परम्परा पनि आजकै दिनसँग जोडिएको छ।
प्रकाशित मिति: २०८२ आश्विन १३ गते


