कुरा नेपाल बुद्धभूमि। बडादशैँ, तिहार र छठ जस्ता नेपालीहरूको महान चाडपर्वलाई लक्षित गर्दै नागरिकहरूको जिउ, धनको सुरक्षा, सहजीकरण र समन्वयलाई मध्यनजर गर्दै नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त समन्वयमा, बुद्धभुमी नगरपालिका–२, अर्घाखाँची चोकमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।
सहायता कक्षमार्फत चाडपर्वको समयमा यात्रुहरूको आवागमन, ट्राफिक व्यवस्थापन, आपतकालीन सूचना आदान–प्रदान, दुर्घटना र सुरक्षा सम्बन्धी प्राथमिक सहायता लगायतका सेवा दिने उद्देश्य राखिएको छ।
प्रहरी प्रशासनका अनुसार, चाडपर्वको चाप, भीडभाड र सवारी साधनको चहलपहल बढ्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नागरिक सहायता कक्षको स्थापना गरिएको हो। साथै, नागरिकमा भरोसा र सुरक्षाको अनुभूति गराउने उद्देश्यले यो सेवा उपलब्ध गराइएको जनाइएको छ।
स्थानीय बासिन्दा र यात्रुले प्रहरीको यो पहलप्रति आभार व्यक्त गर्दै, चाडपर्वको समयमा थप जिम्मेवार र सक्रिय भएर काम गरिदिन आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८२ आश्विन ८ गते


