काठमाडौं, असोज ६ ।
नेपाली हिन्दू समुदायको सबैभन्दा ठूलो पर्व बडादसैं आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म श्रद्धा, उत्साह र धार्मिक विधिपूर्वक मनाइन्छ।
बडादसैंको पहिलो दिन घटस्थापना गरिन्छ। आज बिहान ९:१३ बजे शुभ साइतमै घरघरमा पूजा कोठा वा दशैं घरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरी देवी दुर्गाको आह्वानसहित घटस्थापना गरिएको छ।
घटस्थापनाको दिन विशेष महत्वको मानिन्छ। गाईको गोबरले लिपपोत गरिएको चोखो स्थानमा माटो वा बालुवा राखी त्यसमाथि जौ (यव) रोपिन्छ, जसलाई ‘जमरा राख्ने’ भनिन्छ। धर्मशास्त्रअनुसार दुर्गा देवीको प्रिय वस्तु मानिने जमरा विजयादशमीका दिन टीकासँगै ग्रहण गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रमा जौ बाहेक अन्य अन्न जमराका रूपमा प्रयोग गर्न नहुने उल्लेख छ। यद्यपि, कतिपय परम्परामा अन्य अन्न पनि जौसँगै रोप्ने चलन रहेको पाइन्छ। जमरालाई आयुर्वेदिक औषधिको रूपमा पनि प्रयोग गरिन्छ।
घटस्थापनाको महत्व
घटस्थापनाको दिन कलश स्थापना गरी देवी दुर्गाको पूजा आरम्भ गरिन्छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सूर्योदयकालमा प्रतिपदा पर्ने भएकाले आजको दिन घटस्थापनाको लागि उत्तम मानिएको हो।
यस दिनदेखि नवरात्र सुरु हुन्छ, जसमा देवी दुर्गाका नौ स्वरूपको विशेष पूजन गरिन्छ। क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यही कारण दशैंलाई नवरात्र पनि भनिन्छ।
विजयादशमीको टीका साइत
यस वर्ष विजयादशमीको टीका असोज १६ गते परेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ९:२३ बजे र टीका ग्रहणको उत्तम साइत बिहान ११:५३ बजे रहेको छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद—टीका, जमरा र फूल ग्रहण गरिन्छ। पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसिन्छ र रातभर जाग्राम बसेर धन, ऐश्वर्यको कामना गरिन्छ।
हनुमानढोका दरबारमा विशेष पूजा
परम्पराअनुसार काठमाडौँको हनुमानढोकास्थित दशैं घरमा पनि आजै घटस्थापना गरिएको छ। दरबार हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेलका अनुसार, समितिले तोकेको शुभ साइतमै वैदिक विधिअनुसार कलश स्थापना गरी पूजा सुरु गरिएको हो। दशैंभर यहाँ विशेष बलिसहितको पूजा गरिन्छ। महानवमीका दिन ५४ वटा राँगो र ५४ वटा बोका बलि दिने परम्परा छ।
पारिवारिक पुनर्मिलनको पर्व
दशैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि लिइन्छ। रोजगारी, अध्ययन वा अन्य कामका लागि घरबाट टाढा रहेका व्यक्ति दशैंमा घर फर्किन्छन् र परिवारसँग समय बिताउँछन्। अधिकांश शैक्षिक संस्थाले आजैदेखि दशैं बिदा सुरु गरेका छन्।
दशैं असत्यमाथि सत्य, अन्यायमाथि न्याय र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। जात, धर्म वा वर्गको सिमानाभन्दा माथि उठेर सम्पूर्ण मानवजातिका लागि देवी दुर्गाको पूजा गरिने शास्त्रीय मान्यता छ।
प्रकाशित मिति: २०८२ आश्विन ६ गते


