काठमाडौं — आज असोज कृष्ण औंसीका दिन दिवङ्गत पितृहरूका नाममा तर्पण, सिदादान र पिण्डदान गर्दै पितृपक्ष समापन हुँदैछ। असोज कृष्ण प्रतिपदाबाट सुरु भएको यो पक्ष आज औंसीमा आइपुगेको हो।
धार्मिक मान्यताअनुसार पितृपक्षको प्रत्येक दिन दिवङ्गत पितृहरूको स्मृतिमा श्राद्ध कर्म गरिन्छ। आजको दिन विशेष गरी उनीहरूका नाममा तर्पण, सिदा अर्पण र पिण्डदान गर्ने परम्परा छ।
पितृपक्षको १५ तिथि र त्यसपछि आउने असोज शुक्ल प्रतिपदासम्मको एक दिन समेत जोडेर यसलाई “सोह्र श्राद्ध” भनिन्छ। भोलि सोमवार असोज शुक्ल प्रतिपदामा मातामह अर्थात् आमाका बाबुआमाको श्राद्ध गरिनेछ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार कुनै कारणले गर्दा निर्धारित दिनमा श्राद्ध गर्न छुटेको भए पनि आजको औंसी तिथिमा गर्न सकिने शास्त्रीय व्यवस्था छ। यदि आज पनि गर्न नसके, आपत्कालीन अवस्थामा असोज शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म श्राद्ध गर्न सकिने उल्लेख धर्मग्रन्थमा पाइन्छ।
प्रकाशित मिति: २०८२ आश्विन ५ गते


