काठमाडौं – नारायणगढ–मुग्लिनसहित देशभरका प्रमुख सडकखण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक सुरु भएको छ।
ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ तथा मजदुर प्रतिनिधिहरू सहभागी छन्।
बैठकमा दशैं–तिहारको सन्दर्भमा सडक तथा यातायात व्यवस्थापन कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भइरहेको छ। मन्त्री घिसिङले सडक अवरोधको तत्काल समाधान र लामो समयका लागि व्यवस्थापनका उपाय तयार गर्न कार्यदल गठन गरिने जानकारी दिएका छन्।
तुइनखोला पहिरोले नारायणगढ–मुग्लिन सडक पूर्ण अवरुद्ध
हिजो साँझदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोला पुल नजिकै ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। निरन्तर पहिरो खसिरहेकाले डिभिजन सडक कार्यालयको मेसिनरी टोलीले पहिरो पन्छाउन नसकेको बताइएको छ।
स्थिति सामान्य नहुँदासम्मको लागि प्रशासन र प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।
यात्रु बीच बाटोमै अलपत्र
नारायणगढ–मुग्लिन मात्र होइन, अन्य थुप्रै स्थानमा पहिरोका कारण सडक अबरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। चाडपर्व नजिकिएसँगै यात्रा गर्नेको संख्या बढिरहेका बेला सडक अबरुद्ध हुनु गम्भीर चुनौतीका रूपमा देखिएको छ।
सरकारले अवरुद्ध सडक छिटो खुलाउन सबै निकायलाई पूर्ण परिचालनमा राखेको जनाएको छ।
प्रकाशित मिति: २०८२ आश्विन ४ गते


