कुरा नेपाल विजयनगर। नेपाल–भारत सीमावर्ती क्षेत्र कपिलवस्तुमा काठ तस्करीको घटनामा दिनप्रतिदिन वृद्धि भइरहेको छ। सुरक्षा निगरानी कडा बनाइए पनि तस्करहरूको जालोले प्रहरी र प्रशासनलाई लगातार चुनौती दिँदै आएको छ। स्थानीय बासिन्दाले यसप्रति असन्तुष्टि जनाउँदै तस्करीको रोकथाममा कडाइ गर्न माग गरेका छन्।
तस्करी नियन्त्रणका लागि अहिले सुराकीको आधारमा संयुक्त सुरक्षा टोलीको अभियान सञ्चालन भइरहेको छ। यही क्रममा बिहीबार साँझ प्रहरीले भारतीय सीमासँग जोडिएको विजयनगर गाउँपालिका–७, गेडुवाजोत नजिकको झाडीबाट १२ वटा खैरो काठ बरामद गरेको छ।
झाडीभित्र लुकाइ राखिएको काठ
सीमा पिल्लर नम्बर ५७७/५ नजिकैको झाडीमा लुकाइ राखिएको काठलाई ठकुरापुर प्रहरी चौकी, साझेदारी वन ठकुरापुर, सशस्त्र प्रहरी बल डालपुर र इलाका प्रहरी गणेशपुरको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। काठको मूल्य करिब ६० हजार रुपैयाँ बराबर हुने अनुमान गरिएको छ।
राति ल्याउने, बिहान बेपत्ता
प्रहरीका अनुसार तस्करहरूले रातको समयमा भारतीय जङ्गलबाट खैरो, सिसौ र सहगवनका काठ नेपाल भित्र्याउने गर्छन्। ती काठहरू झाडी, पराल वा गोठमा लुकाएर राखिने र बिहानै स्थानीय काठ स–मिल तथा फर्निचर उद्योगहरूमा पुर्याइने गरिएको छ।
सडक हुँदै तस्करीको बढ्दो प्रवृत्ति
जिल्लाको लालपुर, गेडुवाजोत, दत्तपुर, ठकुरापुर र परशुरामपुर घाट हुँदै तस्करीका गतिविधि बढेको स्थानीयले बताएका छन्। यस्ता गतिविधिहरूले विजयनगर–६, ७ र कृष्णनगर–१२ जस्ता क्षेत्रहरूमा तस्करीको जोखिम अझ बढाएको छ, जुन क्षेत्रहरू भारतीय जङ्गलसँग प्रत्यक्ष जोडिएका छन्।
प्रहरीले यसअघि पनि पटक–पटक काठ बरामद गर्दै आएको र काठ तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखिएको जनाएको छ। तर, स्थायी समाधानको लागि उच्चस्तरीय निगरानी र दण्डात्मक कारबाही आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।
प्रकाशित मिति: २०८२ आश्विन ४ गते


