कुरा नेपाल चितवन। चितवनको तुइनखोला पुल नजिकै नारायणगढ–मुग्लिन सडक खण्डमा खसिरहेको पहिरो अहिले भीमकाय रूप लिँदै सडकमा नै पहाडजस्तो थुप्रिएको छ। गत नौ दिनदेखि साना पहिरो खसिरहे पनि शुक्रबार साँझदेखि स्थिति गम्भीर बनेको हो।
अघिल्लो साता यही स्थानमा भारतीय नम्बर प्लेटको ट्रकमा ढुङ्गा खस्दा चालक गम्भीर घाइते भएका थिए। त्यसयता लगातार खसिरहेको पहिरो शुक्रबार साँझ ६:३० बजेपछि तीव्र गतिमा झर्न थालेपछि डिभिजन सडक कार्यालयका एक्साभेटर र लोडरहरूले काम गर्न नसक्ने अवस्था आएको हो।
डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार, रातभर निरन्तर पहिरो खसिरह्यो। शनिबार बिहान करिब ७:४५ बजे माथिबाट ठूलो ढिस्को खस्दै १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइ भएको पहिरो सडकमा थुप्रिएको छ।
माथिबाट अझै पनि ७० मिटर उचाइ रहेको ठाउँबाट तीव्र गतिमा पहिरो खसिरहेकाले पन्छाउने काम अत्यन्त जोखिमपूर्ण रहेको घिमिरेले जानकारी दिए। मानिसहरू तथा मेसिनहरू काम गर्दा पनि सिधा जोखिममा पर्न सक्ने अवस्था छ।
हाल डिभिजन सडक कार्यालयको तीनवटा लोडर र एक एक्साभेटरले पहिरो पन्छाउने प्रयास गरिरहेको छ भने थप एउटा एक्साभेटर र लोडर घटनास्थलतर्फ पठाइएको छ। यद्यपि, लगातार पहिरो खसिरहेका कारण पूर्ण क्षमतामा काम गर्न नसकेको इन्जिनियर घिमिरेले बताए।
“हाम्रोसँग पर्याप्त साधन छन्, तर पहिरोको आकार ठूलो छ र अझै माथिबाट झरिरहेकोले काम कठिन भइरहेको छ,” — इन्जिनियर अर्जुन घिमिरे
वैकल्पिक बाटो प्रयोग गर्न अपिल
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि प्रहरी, डिभिजन सडक कार्यालय र प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई अनुरोध गरेका छन्।
हाल नारायणगढ हुँदै काठमाडौं जाने यात्रुहरूका लागि हेटौंडा–काठमाडौँ सडक नै प्रमुख वैकल्पिक मार्ग रहेको इन्जिनियर घिमिरेले जनाए। चितवनको हुग्दिखोला हुँदै शक्तिखोर जाने अर्को पहाडी बाटो पनि उपलब्ध भए पनि, त्यहाँ केवल फोर ह्वील गाडी मात्र जान सक्ने अवस्था रहेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए।
छोटो यात्राको आशामा जोखिम उठाउनुको सट्टा सुरक्षित वैकल्पिक मार्गको प्रयोग गर्नु नै उत्तम विकल्प भएको प्रशासनले स्पष्ट पारेको छ।
प्रकाशित मिति: २०८२ आश्विन ४ गते


