कुरा नेपाल बुद्धभूमि। पूर्वमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले हालको आन्दोलनका घटनाक्रममा नेपाली सेनाको निष्क्रिय भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका छन्। संविधान दिवसको अवसरमा बुद्धभूमि नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एक लाख संख्यामा रहेको नेपाली सेना विध्वंश, आगजनी र लुटपाटका समयमा निष्क्रिय रहनु चिन्ताजनक भएको टिप्पणी गरे।
उनले सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवासजस्ता संवैधानिक अंगहरू जोखिममा परेका बेलामा पनि सेना मूकदर्शक बनेको आरोप लगाए। “देशको संरचना ध्वस्त पारिँदा समेत सेना किन निष्क्रिय रह्यो? सुरक्षा दिन कस्ले रोकेको थियो? यदि संकटको बेला पनि सेना सक्रिय हुन सक्दैन भने त्यसको औचित्य के रहन्छ?” आचार्यको प्रश्न थियो।

उनले पछिल्लो समय ‘जेनजी आन्दोलन’का नाममा हिंसात्मक गतिविधिहरूमा संलग्न समूहले आफू र आफ्ना दाजु विष्णुराज आचार्यको घरमा समेत आक्रमण गरी तोडफोड र लुटपाट गरेको जनाए। उनले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यदि आफूहरूले कुनै गल्ती वा भ्रष्टाचार गरेको प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको स्पष्ट पारे।
राष्ट्रपति रामचन्द्र पौडेलले हालको संवैधानिक संकटमा आफ्नो ज्यान जोखिममा राखेर संविधानको रक्षा गरेको उल्लेख गर्दै आचार्यले प्रतिनिधिसभा विघटन र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग जस्ता मुद्दाहरू पनि अहिले ओझेलमा परेको धारणा राखे।
उनले आन्दोलनको आडमा हिंसा मच्चाउने घुसपैठिया समूहहरूको पहिचान गरी कारबाही गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २०८२ आश्विन ४ गते


