कुरा नेपाल बाणगंगा। कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रूपमा १०औं संविधान दिवस मनाएका छन्। संविधानको संरक्षण र सफल कार्यान्वयनका लागि साझा प्रयास आवश्यक रहेको बताउँदै दुबै दलले संयुक्त समारोहको आयोजना गरेका हुन्। कार्यक्रम बाणगंगाको चारनम्बरमा रहेको उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा एमालेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’मा बाह्य शक्ति घुसपैठ भएको दाबी गर्दै गम्भीर अनुसन्धानको माग गरे। उनले जनताको आवाजको सुनुवाइ लोकतन्त्रको आत्मा भएको बताउँदै संविधान दिवसलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने अवसरको रूपमा लिनुपर्ने बताए।
नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अत्तहर कलाम मुसलमानले संविधान नेपाली जनताको बलिदान र संघर्षको प्रतिफल भएको उल्लेख गर्दै यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए। उनले विगतका उपलब्धि र कमजोरीको आत्ममूल्याङ्कन गर्दै सुधारसहित अघि बढ्नुपर्नेमा जोड दिए।

बाणगंगा नगरप्रमुख चक्रपाणी अर्यालले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको दाबी गर्दै यसकै स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने बताए। उनले सामाजिक सञ्जालमार्फत गलत धारणाको प्रवर्द्धन भई संविधान र विकासप्रति नकारात्मक सोच फैलिएकोप्रति चिन्ता व्यक्त गरे।
कांग्रेस बाणगंगाका सभापति विष्णु थापाले जेनजी आन्दोलनलाई युवापुस्ताको असन्तुष्टि र अपेक्षाको स्वरूपका रूपमा व्याख्या गरे। तर, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र लुटपाट स्वीकार्य नहुने भन्दै संलग्नलाई कडा कारबाही गर्नुपर्ने बताए।

कार्यक्रममा एमालेका पूर्वअध्यक्ष झविलाल पोख्रेल, डम्मर शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, महिला नेतृ बालकुमारी पन्तलगायतले जनआन्दोलनदेखि पछिल्ला आन्दोलनसम्मका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय एकताको सन्देश दिएका थिए। उनीहरूले सुशासन, पारदर्शिता, भ्रष्टाचार अन्त्य, रोजगारी र विकासलाई सरकारको प्रमुख एजेन्डा बनाउन आग्रह गरे।
एमाले बाणगंगाका अध्यक्ष सोमनाथ अर्याल मन्तव्य रहेको कार्यक्रमको संचालन भिष्मराज भुसालले गरेका थिए।
प्रकाशित मिति: २०८२ आश्विन ३ गते


