कपिलवस्तुको वाणगंगा नगरपालिका–८, मोतीपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडका दुई जना सञ्चालक समितिका सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। सदस्य राजु अधिकारी (साबिक वडा नं. ५) र बाबुराम भण्डारी (साबिक वडा नं. ६) ले संस्थाको हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदत्याग गरेका हुन्।
वि स २०५४ मा स्थापना भएको यस सहकारीमा करिब ३२०० जना सदस्य रहेका छन्। प्रारम्भमा कृषि उत्पादन वृद्धि र सदस्यहरूको जीवनस्तर उकास्ने उद्देश्यसहित सुरु गरिएको सहकारी पछिल्लो समय पारदर्शिता, जवाफदेहिता र सुशासन अभावमा गम्भीर समस्यामा परेको दुवै सदस्यको आरोप छ।
राजीनामा पत्रमा जग्गा खरिद, आर्थिक व्यवस्थापन, हिसाब–किताब र मूल्याङ्कन प्रक्रियामा गम्भीर अनियमितता भएको उल्लेख गरिएको छ। जग्गा खरिदमा रकम बुझाइसकेपछि समेत कब्जा दिन ढिलाइ गरिएको, बजार मूल्यभन्दा बढी मूल्य तोकिएको र ऋण वितरणमा पारदर्शिता नअपनाइएको जस्ता आरोप लगाइएको छ। त्यस्तै, समितिहरू गठन नगरेको, सदस्यहरूको सुझाव बेवास्ता गरिएको, मेसिनरी कारोबारमा अनियमितता देखिएको र लेखापरीक्षण समयमै नगरेको कुरा पनि पत्रमा उठाइएको छ।
दुवै सदस्यका अनुसार उनीहरूले सुधारका लागि पटक–पटक सुझाव र पहल गरे तापनि व्यवस्थापन पक्षले गम्भीरता नदेखाएको र उल्टै सुधार प्रयासमा अवरोध गरिएको आरोप समेत लगाएका छन्। यस्ता अवस्थाहरूका कारण पदमै बसेर योगदान दिन नसकिने ठहर गर्दै उनीहरूले राजीनामा दिएको बताएका छन्।
उनीहरूले आफ्नो राजीनामा संस्थाको कमजोरीप्रति आक्रोश मात्र नभई सुधारको अवसरका रूपमा लिन आग्रह गरेका छन्। साथै, सहकारीमा आस्था राख्ने सदस्य, शेयरधनी र शुभेच्छुकहरूलाई पारदर्शिता र सुशासन सुनिश्चित गर्न सक्रिय भूमिका खेल्न आह्वानसमेत गरेका छन्।
यसअघि पनि सहकारीसँग सम्बन्धित विभिन्न मुद्दामा असन्तुष्टि देखिँदै आएको थियो। तर यस पटक सञ्चालक समितिका सक्रिय सदस्यहरूले संयुक्त रूपमा राजीनामा दिएपछि संस्थाभित्रको आन्तरिक असन्तुलन सतहमा आएको छ। तथापि, राजीनामा दिने सदस्यहरूले समस्याहरू सुधार गर्न सकिने विश्वास व्यक्त गर्दै सुधारका लागि स्पष्ट मार्गरेखा प्रस्तुत गरेका छन्।


प्रकाशित मिति: २०८२ आश्विन २ गते


