काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी त्याग गर्दै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गर्नुभएको छ।
भिडियो सन्देशमार्फत चौधरीले ‘नेपाल नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ दल गठन गर्दै ‘नाउपा’ (नागरिक उन्मुक्ति पार्टी) बाट अलग भएको स्पष्ट पार्नुभएको हो। नयाँ दलको चुनाव चिन्हको रूपमा “पहिचान” प्रस्ताव गरिएको उहाँले बताउनुभयो।
उहाँले देशको वर्तमान राजनीति प्रतिशोधपूर्ण र इर्ष्यायुक्त भएको टिप्पणी गर्दै, टिकापुर घटनामा आफू निर्दोष हुँदाहुँदै पनि राजनीतिक प्रतिशोधका कारण घरसमेत जलाइएको गुनासो गर्नुभयो। साथै, घटनासँग सम्बन्धित क्षतिपूर्तिको विषयमा व्यापक अनियमितता भएको आरोप लगाउँदै उहाँले “५० हजार क्षतिको दाबी गर्नेले डेढ करोडसम्म पाएको” दाबी गर्नुभयो।
चौधरीले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, राज्य पुनःसंरचना तथा सीमाङ्कनको परिमार्जन गर्नुपर्ने, र आफ्ना मुद्दामा निष्पक्ष न्यायिक निर्णय आउनुपर्ने माग राख्नुभएको छ। साथै, देशभर सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउनेहरूलाई छानबिन गरी कानुनी कारबाही गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ।
प्रकाशित मिति: २०८२ भाद्र २९ गते


