काठमाडौं, २८ भदौ —
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘ट्विटर’ (हाल ‘एक्स’) मार्फत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन्।
मोदीले आफ्नो पोस्टमा लेखेका छन्,
“नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत, नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध छ।”
यसअघि भारतले शुक्रबार राति नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत जनाएको थियो। पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको सरकारले नेपालमा शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्ने अपेक्षा भारतले गरेको छ।
भारतले नेपालको आन्तरिक राजनीतिक प्रक्रियाको सम्मान गर्दै अन्तरिम सरकारलाई नेपालका जनताको आकांक्षाअनुरूप जिम्मेवारी वहन गर्ने अवसरको रूपमा समेत लिएको छ। भारत र नेपालबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि भारतीय पक्षले दोहोर्याएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २८ गते


