काठमाडौं, २८ भदौ —
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आजै साँझसम्म मन्त्रिपरिषद् गठन गर्ने तयारी तीव्र पार गरेकी छन्। विभिन्न क्षेत्रबाट आएका स्वतन्त्र प्रतिनिधित्व समेट्ने प्रयासस्वरूप जीन–जी, कुलमान घिसिङ, दुर्गा प्रसाईं र बालेन साह पक्षको सहभागिता सुनिश्चित गर्न मन्त्रिपरिषद् गठनको एक्सरसाइज तीव्र पारिएको हो।
तर, आन्तरिक सरकारको नेतृत्वका लागि चर्चामा रहेका कुलमान घिसिङले मन्त्री बन्न अस्वीकार गरेका छन्। उनले व्यक्तिगत रूपमा जिम्मेवारी नलिने बताएपछि उनको सिफारिसमा अन्य एक व्यक्ति मन्त्री बन्ने पक्का भएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भने ६ जना मन्त्री मागेका छन्। यद्यपि, प्रारम्भिक सहमतिको आधारमा उनको सिफारिसमा २ जना मात्र मन्त्री बन्ने पक्का भएको बताइएको छ। तीमध्ये एकजना डा. सुरेन्द्र केसी हुनसक्ने आन्तरिक स्रोतको दाबी छ।
जीन–जी पक्षले आफ्नो टिमबाट कुनै पनि प्रतिनिधि नपठाउने स्पष्ट पारेको छ। यसपछि जीन–जीले स्वतन्त्र र निष्कलंक व्यक्तिहरूको खोजी थालेका छन्। सम्भावित नाममा पूर्वन्यायाधीश आनन्दमोहन भट्टराई र बालेन साहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल परेका छन्। तर अन्तिम टुंगो लाग्न भने बाँकी नै छ।
प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमा विविध पृष्ठभूमिका स्वतन्त्र प्रतिनिधित्व समेट्ने प्रयास अन्तिम चरणमा पुगेको बताइएको छ।
प्रकाशित मिति: २०८२ भाद्र २८ गते


