काठमाण्डौ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै साँझ सरकार प्रमुख बनाउने सहमति जुटेको छ। शुक्रबार दिनभर चलेको उच्चस्तरीय राजनीतिक छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने र त्यसपछि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमतिमा नेताहरू पुगेका हुन्।
शीतल निवास स्रोतका अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल प्रतिनिधिसभा विघटन गर्नु अघि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने अडानमा थिए। तर आन्दोलनरत युवाहरूले शीतलनिवास घेराउ गर्ने चेतावनी दिएपछि, राष्ट्रपति पौडेलले आफूबाट परिस्थिति सम्हाल्न कठिन भएको भन्दै दलका शीर्ष नेताहरूसँग तत्काल निर्णयको तयारी गरेका हुन्।
राष्ट्रपतिले अब प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र त्यसपछिनै कार्कीलाई प्रधानमन्त्रीको रूपमा शपथ गराउने तयारी गरिरहेका छन्। शीतलनिवासमा यसबेला संसद विघटनसम्बन्धी निर्णयको मस्यौदा र सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने पत्रको तयारी भइरहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: २०८२ भाद्र २७ गते


