भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनेरेशन जेड (जेन जी) ले भदौ २३ र २४ गते गरेको आन्दोलनले अब अर्कै मोड लिएको छ। शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि २७ घण्टामै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। आन्दोलनले छोटो समयमै यस्तो ठूलो राजनीतिक परिणाम निकाल्न सफल भएपछि अहिले त्यसको नेतृत्व कसले लिन्छ? भन्ने बहस सुरु भएको छ।
यसैबीच, हिजो दिउँसोदेखि एक व्यक्ति सामाजिक सञ्जालमा निकै चर्चामा छन्। उनी हुन् — सुदन गुरुङ्ग, ‘हामी नेपाली’ नामक गैरसरकारी संस्थाका अध्यक्ष। उनले हिजो पत्रकार सम्मेलन गर्दै भनेका छन्, “कसैलाई पनि नछोडिन्छ, आन्दोलनका क्रममा ज्यान गुमाएका युवालाई गोली हान्नेहरूलाई जहाँ भए पनि खोजेर ल्याइन्छ।”

उनको नेतृत्वमा रहेको ‘हामी नेपाली’ संस्था सन् २०२० मा दर्ता भएको हो।
- दर्ता नम्बर: ६०९७८९०६५
- मुख्य दाताहरूमा: डा. सन्दुक रुइत, दीपक भट्टको Infinity Holdings, उपेन्द्र हिरावत, सुलभ अग्रवाल, र साहिल अग्रवालको Shankar Group रहेका छन्।
संस्थाको जम्मा पूँजी २९ करोड ५१ लाख रुपैयाँ रहेको छ।
- जसमध्ये १९ करोड ११ लाख खर्च भइसकेको छ,
- र १० करोड ४० लाख रुपैयाँ बाँकी देखाइएको छ।
यसबाहेक, संस्थालाई चीनविरुद्ध क्रियाशील ‘Students for a Free Tibet’ नामक अन्तर्राष्ट्रिय एनजिओले पनि आर्थिक सहयोग उपलब्ध गराएको स्रोतबाट पाइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २७ गते


