काठमाडौं, भदौ २५ – काठमाडौंको सुन्धारामा जेनजी (जेनरेशन जस्टिस) आन्दोलनसँग सम्बन्धित युवाहरूबीच झडप भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुक सरकारविहीन अवस्थामा रहेको बेला नयाँ नेतृत्व चयनको विषयमा विभिन्न समूहहरूबीच विवाद चुलिएको हो।
सुन्धारा क्षेत्रमा अन्तरिम सरकार गठनको दाबी गर्दै भेला भएका विभिन्न युवा समूहहरूबीच आपसी समन्वय नहुनु, नेतृत्वको दाबी, र एकअर्काको प्रस्ताव अस्वीकार गरिँदा स्थिति तनावपूर्ण बनेको हो। विवाद चर्किँदै जाँदा हात हालाहालको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनलाई लिएर नेपाली सेनाले समेत युवासँग संवाद सुरु गरेको बताइएको छ। सेनाले देशको अस्थिर परिस्थिति नियन्त्रणमा लिन कमाण्ड सम्हालेको चर्चा भइरहेका बेला, नेतृत्वका लागि देखिएको प्रतिस्पर्धाले आन्दोलनमा भित्रि विभाजन देखिएको छ।
प्रहरीले झडप नियन्त्रणमा लिएको र थप अप्रिय घटना हुन नदिन सुरक्षाको व्यवस्था कडा पारिएको जनाएको छ।
प्रकाशित मिति: २०८२ भाद्र २६ गते


