पशु चौपायामा फैलिएको ‘लम्पी स्किन’ रोगले हाल कपिलवस्तु सहित पश्चिम तराईका जिल्लामा महामारीकै रूप लिएको छ। यो भाइरल रोगका कारण किसानका गाईभैंसी धामधम मर्न थालेका छन्। उपचार सेवा किसानसम्म समयमै नपुगेका कारण रोग फैलँदै गएको छ भने किसान वर्षेनी ठूलो नोक्सानी बेहोरिरहेका छन्।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्याङ्क अनुसार, गत वर्ष मात्र यो रोगले ३० हजारभन्दा बढी गाईभैंसी मरेका छन्। दूध उत्पादनमा ह्रास र पशु मृत्युसहित किसानहरूले झण्डै एक खर्ब रुपैयाँ बराबरको नोक्सानी बेहोरेका छन्।
तर यति ठूलो संकट हुँदा पनि सरकारको ध्यान अझै नपुगेको किसानहरूको गुनासो छ। पशु स्वास्थ्यसँग सम्बन्धित निकायमा बजेट कटौती भएको, खोप पर्याप्त नभएको, र स्थानीय तहले गम्भीरता नदेखाएको किसानको आरोप छ।
‘खोप छ, तर पुग्दैन’: बाणगंगाबाट ताजा तथ्य
कपिलवस्तुको बाणगंगा नगरपालिकामा मात्रै करिब ४ हजार गाईगोरु छन्। तर खोप पुग्न नसकेका कारण धेरै पशु जोखिममा छन्। नगरका पशु शाखा प्रमुख राजकुमार तिवारीले रोग नियन्त्रणमा प्रयास गरिएको बताए पनि स्थानीय स्तरमा संक्रमण अझै उच्च छ।
बाणगंगामा हालसम्म जम्मा ९ सय पशुमा मात्र खोप लगाइएको छ। बाँकी करिब ३ हजार १ सय पशु अझै पनि असुरक्षित छन्। खोप अभावकै कारण किसानका चौपाया रोगको सिकार भइरहेका छन्।
‘एक खोप माग्दा आधा पनि पाइँदैन’: पशुसेवा केन्द्रको गुनासो
कपिलवस्तुका लागि करिब २० हजार डोज खोप आवश्यक पर्ने भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तौलिहवाको आकलन छ। तर हालसम्म जम्मा ७ हजार डोज मात्र आएको छ।
केन्द्रका प्रमुख सुकै प्रसाद चौधरीका अनुसार, गत वर्षको ४ हजार खोप बाँकी रहेको र यस वर्ष थप ७ हजार मात्रै उपलब्ध भएको बताए। तत्काल १३ हजार डोज आवश्यक रहेको जानकारी दिँदै उनले सम्बन्धित निकायसँग माग गरे पनि आपूर्ति नभएको गुनासो गरे।
कस्तो हो लम्पी स्किन रोग?
लम्पी स्किन रोग एक संक्रामक भाइरल रोग हो, जुन विशेष गरी गाईमा देखिन्छ। यो रोग एलएसडी भाइरस (Lumpy Skin Disease Virus) का कारण लाग्छ, जुन पोक्सभाइरस समूहमा पर्दछ।
सर्वप्रथम अफ्रिकामा देखिएको यो रोग हाल नेपालका सबै ७७ जिल्लामा फैलिसकेको छ। सन् २०७७ मा मोरङ जिल्लाबाट सुरु भएको यो रोग अहिले देशव्यापी भइसकेको छ।
गाईभैंसीको छालामा गाँठागुठी देखिने, ज्वरो आउने, दूधको उत्पादन घट्ने, र चरन तथा पानी सेवनमा समस्या आउने यस रोगका मुख्य लक्षण हुन्।
रोग कसरी सर्छ?
- लामखुट्टे, टोक्ने भिंगा र किर्नाले टोक्दा
- संक्रमित पशुको सँगतमा हुँदा
- साझा चरन र पानी खाने ठाउँबाट
- एकै सुईबाट फरक पशुमा उपचार गर्दा
- कृत्रिम गर्भाधानको समयमा
गर्मी याममा कीराको सक्रियता बढ्ने भएकाले यो रोग अझ तीव्र गतिमा फैलिन्छ।
उपचार छैन, रोकथाम नै उपाय
पशु प्राविधिकहरूका अनुसार, लम्पी स्किन रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोकथाम नै प्रमुख उपाय हो।
पशु प्राविधिक बसन्त सुवेदी भन्छन्, “सङ्क्रमण हुनुअघि खोप लगाउनु नै एक मात्र प्रभावकारी उपाय हो। रोग लागिसकेपछि खोपको प्रयोग गर्नुहुँदैन।”
रोग लागेपछि सामान्यतः १० देखि १५ दिनमा पशु निको हुन्छ। एकपटक रोग लागेको पशुमा प्रतिरोधात्मक क्षमता बन्ने भएकाले दोहोरिएर रोग लाग्ने सम्भावना अत्यन्त कम हुन्छ।
खोप र सजगता बिना लम्पी स्किन रोकथाम असम्भव
लम्पी स्किनको महामारी नियन्त्रण गर्न सरकार, स्थानीय तह र पशुप्राविधिकबीच समन्वय आवश्यक छ। खोप अभाव, जनशक्ति कमी, र गम्भीरता नदेखिएका कारण किसानको गुनासो बढ्दो छ।
यदि तत्काल खोप आपूर्ति, जनचेतना र निगरानी प्रणाली सुधारिएन भने, किसानको चौपायामात्र होइन, देशको पशुपालन क्षेत्र नै धरापमा पर्न सक्छ।
प्रकाशित मिति: २०८२ भाद्र २३ गते


