कपिलवस्तु,
ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको १५०० औं जन्मोत्सव (मोहम्मद डे) शुक्रबार कपिलवस्तुमा मुस्लिम समुदायले विविध कार्यक्रमसहित भव्य रूपमा मनाएका छन्।
सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, महाराजगन्जलगायतका विभिन्न क्षेत्रहरूमा मुस्लिम समुदायले बाजागाजासहित र्याली, सभा तथा सामाजिक सेवामुखी कार्यक्रम गरी मोहम्मद डे मनाएका हुन्।
तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयको खेल मैदानबाट सुरु भएको र्याली नयाँटोल, गौढीचोक, भवानी भिक्षुचोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर समापन भएको थियो। कार्यक्रममा मुस्लिम समुदायका अगुवा, युवाहरू, महिला समूह लगायतको उत्साहजनक सहभागिता देखिएको थियो।
मुस्लिम अगुवा रउफ अहमद खाँका अनुसार, मोहम्मद डे को अवसरमा मुस्लिम परिवारहरूले घर–घरमा हरियो झन्डा राख्ने चलन रहेको छ। यस दिन गरिब, असहाय र विपन्नहरूलाई भोजन गराउने तथा सहयोग गर्ने धार्मिक परम्परा पनि रहेको उनले जानकारी दिए।
मुस्लिम धर्मगुरुहरूका अनुसार, पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का सहरमा बिबी अमिनाको कोखबाट भएको हो। इस्लाम धर्मका अन्तिम सन्देशवाहकका रूपमा परिचित उनी ६३ वर्षको उमेरमा मदिनामा निधन भएका थिए।
प्रकाशित मिति: २०८२ भाद्र २१ गते


