काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आज दोस्रो दिन पनि ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी छ। बिहान ८ बजेबाट सुरु भएको कार्यक्रममा, पहिलो दिन बाँकी रहेका प्रतिवेदनहरूको प्रस्तुति भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
आजको सत्रमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
महाधिवेशनको पहिलो दिन, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को प्रतिवेदन प्रस्तुत गरेका थिए।
आजको कार्यसूचीअनुसार, प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल हुने कार्यक्रम तय गरिएको छ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु भएको महाधिवेशनमा देशभरबाट आएका २,०२६ प्रतिनिधिसहित आयोजक टोलीका ३१५ सदस्य गरी कुल २,३४१ जनाको सहभागिता रहेको छ। महाधिवेशन आइतबारसम्म चल्नेछ।
प्रकाशित मिति: २०८२ भाद्र २१ गते


