काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तुरुन्त फिर्ता लिन आग्रह गरेको छ। पार्टीले यस्तो कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सञ्चार अधिकार र सूचना पहुँचमा गम्भीर असर पार्ने चेतावनी दिएको छ।
रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाएकी हुन्।
श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
“सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जनको माध्यम मात्र होइन, नागरिकको मौलिक हक, विचार–अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान–प्रदानको प्रमुख स्रोत हो। यसलाई एकैपटक बन्द गर्नु जनताको हक–अधिकारमाथि प्रत्यक्ष प्रहार हो।”
रास्वपाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाविपरीतको कदम भन्दै कडा विरोध जनाएको छ।
विज्ञप्तिमा उल्लेख छ,
“नेपालको संविधानको धारा १७ ले विचार र अभिव्यक्ति स्वतन्त्रता, र धारा १९ ले सूचना तथा सञ्चारको हक मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। सरकारको यो निर्णयले ती अधिकारमाथि सीधा हस्तक्षेप गर्छ।”
रास्वपाले लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रता मेरुदण्ड भएको उल्लेख गर्दै सरकारलाई नागरिक अधिकारको सम्मान गर्न र सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ भाद्र २० गते


