काठमाडौं — अब राति अबेर वा बिहान सबेरै छिमेकीलाई डिस्टर्ब हुने गरी आवाज गरे कडा कारबाही हुनेछ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सार्वजनिक सूचना जारी गर्दै यस्तो हर्कत नगर्न सबैलाई सचेत गराएको छ ।
प्रहरीका अनुसार, लाउड स्पिकरमा ठूलो आवाजमा संगीत बजाउने, पार्टी वा जमघटमा अत्यधिक आवाज निकाल्ने, राती वा बिहान ठूल्ठूला आवाजमा कुराकानी गर्नेजस्ता क्रियाकलापले छिमेकीलाई असर पुर्याउँछ भने कानुनी कारबाही हुनेछ ।
त्यस्तै, प्रेसर कुकरको सिट्ठी, ठूलो स्वरमा खोक्ने वा खकार्ने, गेट जोडले खोल्ने, भाँडाकुडा ठोक्काउने, शौचालय फ्लस गर्दा समेत अत्यधिक आवाज भएमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई कानुनअनुसार अधिकतम ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको पनि प्रहरीले स्मरण गराएको छ ।
सार्वजनिक शान्ति र छिमेकीबीचको सहअस्तित्व कायम राख्न सबैले सहयोग गर्नुपर्ने प्रहरीको अपिल छ ।

प्रकाशित मिति: २०८२ भाद्र १९ गते


