काठमाडौँ, १३ भदौ — दक्षिण कोरियाले विद्यालय समयमा कक्षा कोठामा मोबाइल फोन र स्मार्ट डिभाइसको प्रयोगमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ। सन् २०२६ को मार्च महिनाबाट लागू हुने यो कानुनको उद्देश्य विद्यार्थीहरूमा बढ्दो स्मार्टफोन लतका नकारात्मक प्रभाव नियन्त्रण गर्नु हो।
कानुनअनुसार अब कक्षामा फोन प्रयोग निषेध हुनेछ भने शिक्षकहरूलाई विद्यालय परिसरमै विद्यार्थीहरूले फोन प्रयोग गर्न नदिने अधिकारसमेत दिइनेछ। यद्यपि अपाङ्गता भएका वा विशेष आवश्यकता भएका विद्यार्थीहरूलाई शैक्षिक सहायताका लागि उपकरण प्रयोग गर्न छुट दिइनेछ। साथै, शैक्षिक उद्देश्य र आपतकालीन अवस्थाका लागि फोन प्रयोगमा अपवाद व्यवस्था गरिएको छ।
दक्षिण कोरिया यस्तो कानुनी प्रतिबन्ध लागू गर्ने सीमित देशहरूमध्ये पर्न गएको छ। यसअघि फ्रान्स र फिनल्याण्डले प्राथमिक तहका विद्यालयमा यस्तो प्रतिबन्ध लागु गरेका थिए भने चीन, इटाली, र नेदरल्याण्डजस्ता देशहरूले सबै विद्यालयस्तरमा फोन प्रयोगमा प्रतिबन्ध लगाएका छन्।
विद्यार्थीको पढाइमा असर : प्रतिबन्धको प्रमुख कारण
यो प्रतिबन्ध लगाउनुका पछाडि विद्यार्थीहरूको पढाइमा स्मार्टफोन प्रयोगले पारिरहेको असर मुख्य कारण हो। सांसद, शिक्षक, र अभिभावकहरूका अनुसार विद्यार्थीहरू फोनमा यति धेरै निर्भर छन् कि उनीहरूको शैक्षिक प्रदर्शन घटेको र अध्ययनको समय खेर गइरहेको छ।
सन् २०२४ को एक सरकारी सर्वेक्षण अनुसार दक्षिण कोरियाको कुल जनसंख्या ५ करोड १० लाखमध्ये करिब एक चौथाइ मानिसहरू स्मार्टफोनमा अत्यधिक निर्भर छन्। १० देखि १९ वर्षका किशोरकिशोरीहरूमा यो अनुपात ४३% भन्दा बढी रहेको देखिएको छ।
एक तिहाइभन्दा धेरै किशोरहरू सामाजिक सञ्जालमा भिडिओ हेरेर बिताउने समय नियन्त्रण गर्न संघर्ष गरिरहेका छन्। बीबीसीसँग कुरा गर्दै एक अभिभावक चोई युन–यङले भनिन्, “आजकालका बच्चाहरू आफ्नो स्मार्टफोन छोड्न सक्दैनन् जस्तो लाग्छ।”
उनीजस्ता धेरै अभिभावकले स्मार्टफोनको अत्यधिक प्रयोगले बालबालिकाहरूको पढाइ, सामाजिक सम्बन्ध, र अन्य सिर्जनात्मक गतिविधिमा असर गरिरहेको चिन्ता व्यक्त गरेका छन्।
कडा प्रतिस्पर्धी परीक्षा ‘सुनुङ’ पनि कारणमध्ये एक
विधेयक प्रस्ताव गर्ने विपक्षी सांसद चो जुङ–हुनले स्मार्टफोन लतले विद्यार्थीहरूको मानसिक विकासमा गम्भीर असर पार्ने वैज्ञानिक प्रमाणहरू रहेको उल्लेख गरेका छन्। यद्यपि धेरैजसो कोरियाली विद्यालयहरूले पहिलेदेखि नै आन्तरिक रूपमा फोन प्रयोगमा केही प्रतिबन्धहरू लगाइसकेका थिए।
कतिपयको विश्वास छ कि यो कानुन केवल स्मार्टफोन नियन्त्रणका लागि मात्र नभई देशको अत्यन्त प्रतिस्पर्धात्मक कलेज प्रवेश परीक्षा ‘सुनुङ’ लक्षित गरी ल्याइएको हो। आठ घण्टा लामो यो परीक्षा विद्यार्थीको भविष्य निर्धारण गर्ने मुख्य आधार मानिन्छ — विश्वविद्यालयको छनोटदेखि रोजगारी र आम्दानीको सम्भावनासम्म।
कोरियाली विद्यार्थीहरूले विद्यालय जीवनको पहिलो दिनदेखि नै यो परीक्षाको तयारी गर्न थाल्ने भएकाले स्मार्टफोन प्रतिबन्धले उनीहरूको ध्यान केन्द्रित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०८२ भाद्र १३ गते


