संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको ताजा लिजा (स्थानिय तह संस्थागत स्वमूल्याङ्कन) नतिजाअनुसार कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका उत्कृष्ट बन्न सफल भएको छ।
बिजयनगरले ८७.२५ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाको गाउँपालिका श्रेणीमा पहिलो तथा समग्र मूल्याङ्कनमा दोस्रो स्थान हासिल गरेको हो।
मन्त्रालयले हरेक वर्ष स्थानीय तहको कार्यक्षमता मूल्याङ्कन गर्न नौवटा सूचकहरू—शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन, र सहकार्य तथा समन्वय—को आधारमा मूल्याङ्कन गर्दै आएको छ।
बिजयनगर गाउँपालिकाले दीर्घकालीन दृष्टिकोण, मध्यमकालीन खर्च संरचना, समयमै बजेट तर्जुमा, कार्यान्वयन तथा प्रभावकारी अनुगमनलाई प्राथमिकतामा राख्दै उत्कृष्टता हासिल गरेको जनाइएको छ।
गाउँपालिकाले आर्थिक, सामाजिक, पूर्वाधार, वन–वातावरण तथा विपद् व्यवस्थापन, र सुशासन तथा संस्थागत विकास—यी पाँच मुख्य क्षेत्रलाई लक्षित गरी सन्तुलित बजेट विनियोजनका साथ नतिजामुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रकाशित मिति: २०८२ भाद्र १२ गते


