क्रिकेट र चुनावको प्रभाव : नेपाली चलचित्र बजारमा दर्शक घट्दा व्यापार प्रभावित

काठमाडौं । यतिबेला जारी क्रिकेट वल्र्ड कप र नजिकिँदै गरेको संसदीय निर्वाचनको चहलपहलले नेपाली चलचित्र उद्योगको व्यापारमा प्रत्यक्ष असर पारेको देखिएको छ। दैनिक तीनसम्म वल्र्ड कपका खेलहरू प्रसारण भइरहेका कारण दर्शकहरू टेलिभिजनमा केन्द्रित भएका छन् भने आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनको प्रचारप्रसारमा पनि सर्वसाधारण व्यस्त देखिएका छन्।

गाउँदेखि सहरसम्म चुनावी माहोल तीव्र बन्दै जाँदा चलचित्र घरमा दर्शकको संख्या उल्लेख्य रूपमा घटेको हल सञ्चालकहरूले बताएका छन्। यसै साता रिलिज भएका नेपाली चलचित्रहरूको कमजोर व्यापारिक अवस्था यसैको प्रमाण भएको उनीहरूको भनाइ छ।

गत शुक्रवार प्रदर्शनमा आएका तीन नेपाली चलचित्र ‘बिगुल’, ‘श्री बुकुरो : द होम कलिङ’ र ‘शिवांश : च्याप्टर १’को व्यापार अपेक्षाभन्दा कमजोर देखिएको छ। ‘शिवांश : च्याप्टर १’ शनिवार सार्वजनिक बिदाको दिन समेत अधिकांश हलमा हाउसफुल हुन नसकेपछि सोमबारदेखि केही हलबाट उतारिएको जानकारी प्राप्त भएको छ।

यस्तै ‘श्री बुकुरो : द होम कलिङ’को व्यापार पनि सन्तोषजनक नभएको निर्देशक सुदिप भूपाल सिंहले बताएका छन्। उनका अनुसार केही हलमा दर्शकको उपस्थिति भए पनि समग्रमा अपेक्षाअनुसार व्यापार हुन सकेको छैन। चलचित्र प्रवर्द्धनका लागि टिकट किनेर दर्शक ल्याउने अवस्था आफूले नचाहेको पनि उनले स्पष्ट पारे।

यी चलचित्रहरूको तुलनामा ‘बिगुल’को व्यापार केही सकारात्मक देखिए पनि अपेक्षित स्तरमा पुग्न नसकेको निर्माण पक्षले जनाएको छ। विभिन्न सामाजिक संस्थाले हल बुक गरेर दर्शक ल्याए पनि क्रिकेट वल्र्ड कप र चुनावी गतिविधिका कारण समग्र व्यापार प्रभावित भएको निर्देशक रमेश कोइरालाले बताएका छन्।

अघिल्लो दुई सातादेखि प्रदर्शनमा रहेका नेपाली चलचित्रमध्ये ‘आ बाट आमा’ मात्र व्यापारिक रूपमा सफल देखिएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक बक्स अफिस तथ्यांकअनुसार ‘आ बाट आमा’ले तेस्रो हप्तासम्म ३ लाख १० हजार ३२३ टिकट बिक्री गर्दै ८ करोड ३१ लाख ८७ हजार ७८९ रुपैयाँ ग्रस कमाइ गरेको छ। २०८२ सालमा रिलिज भएका चलचित्रमध्ये ‘परान’ र ‘उनको स्विटर’पछि तेस्रो स्थानमा पर्न सफल भएको यो चलचित्रले १६ दिनमै लगानी सुरक्षित गर्दै नाफा कमाउन थालेको निर्देशक चन्द्र पन्तले बताएका छन्।

तेस्रो सातामा पनि ‘आ बाट आमा’को व्यापारिक रफ्तार कायम रहेको छ। आइतबार मात्र देशभर ६४ लाख ४५ हजार रुपैयाँ ग्रस कमाइ गरेको रिपोर्ट सार्वजनिक भएको छ भने शनिवारको व्यापार एक करोड हाराहारी रहेको थियो। अब आगामी दुई सातासम्म नयाँ चलचित्र रिलिज नहुने भएकाले यसले १२ देखि १३ करोड रुपैयाँसम्म व्यापार गर्न सक्ने अनुमान वितरकहरूको छ।

दोस्रो सातामा प्रदर्शन भइरहेका ‘कुमारी’ र ‘रमिताको पिरती’ भने व्यापारिक रूपमा कमजोर देखिएका छन्। ‘कुमारी’ले ९ दिनमा ५६ लाख २११ रुपैयाँ मात्र कमाएको छ, जबकि लगानी उठाउन ४ करोड रुपैयाँ आवश्यक रहेको बताइएको छ। ‘रमिताको पिरती’ले भने ९ दिनमा जम्मा १९ लाख ४३ हजार ५८८ रुपैयाँ मात्र कमाउँदै बक्स अफिसमा फ्लप सावित भएको छ।

राजधानी राष्ट्रिय दैनिकबाट

प्रकाशित मिति: २०८२ फाल्गुन ५ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_4137

पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयो

Nirbachan_aayog

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

IMG_4108

विश्वव्यापी कर बढाएर १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

IMG_4107

रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेकोले भाँड्न खोजेको छ- ओली

police-lathicharg

सुनसरी : कांग्रेस–रास्वपा विवादपछि प्रहरीद्धारा लाठीचार्ज

bishram

श्रमिककाे न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने : उम्मेदवार चाैधरी

dang jahnda

दाङमा एमालेको झण्डा जलाएको आरोपमा ३ जना पक्राउ

att._AsIH79A6UACcF-N_KvYscEPd-eqNsSMffrG6q6zzHc

कपिलवस्तुमा शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने