कपिलवस्तु जिल्लामा एकैदिन तीन फरक स्थानमा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ। आगामी निर्वाचन नजिकिँदै गर्दा यस्ता घटनाले स्थानीय बासिन्दा र मतदातामा चिन्ता थपेको छ।
जिल्ला सुरक्षा स्रोतका अनुसार हुलाकी राजमार्ग अन्तर्गत बर्गदि पुल नजिकै सानो टिनको बट्टा शंकास्पद अवस्थामा भेटिएको छ। त्यसैगरी पुर्वपश्चिम राजमार्ग अन्तर्गत ड्राईनाला नजिकै ‘हुक्स बम’ फेला परेको र उक्त बम रहेको पुष्टि भइसकेको जनाइएको छ। अर्को शंकास्पद वस्तु बनकसबासा नजिकै तारले बेरिएको पहेँलो प्याकेटका रूपमा फेला परेको बताइएको छ।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ खटिएको छ। शंकास्पद वस्तुहरूलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने तयारी भइरहेको र सर्वसाधारणलाई उक्त क्षेत्र आसपास नजान आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै अनावश्यक हल्ला नफैलाउन र शंकास्पद गतिविधि देखिएमा तुरुन्त सुरक्षाकर्मीलाई खबर गर्न अनुरोध गरेको छ।
आगामी निर्वाचनलाई लक्षित गरी सुरक्षा चुनौती बढ्न सक्ने आकलन गर्दै जिल्लाभर निगरानी र चेकजाँचलाई कडा पारिएको सुरक्षा निकायले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रकाशित मिति: २०८२ फाल्गुन ५ गते


