कपिलवस्तु । बुद्धभूमी उद्योग वाणिज्य सङ्घले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै महोत्सवबाट संकलित रकममार्फत् विभिन्न सामाजिक क्षेत्रमा सहयोग विस्तार गरेको छ। यसै क्रममा सङ्घले बुद्धभूमि नगरपालिका–१ भेलाइस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयका दृष्टिविहीन छात्रछात्रालाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण गर्नुका साथै कपिलवस्तु सर्पदंश उपचार केन्द्र, गोरुसिङेलाई समेत आवश्यक सामग्री उपलब्ध गराउने जानकारी गराएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा सङ्घका महासचिव हरिलाल अधिकारी, कार्यवाहक अध्यक्ष विष्णु पौडेललगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा विद्यार्थीहरूलाई कम्बल हस्तान्तरण गरिएको हो। उक्त सामग्री विद्यालयका प्रधानाध्यापक डिलाराम पौडेलमार्फत् विद्यार्थीहरूलाई औपचारिक रूपमा वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै महासचिव अधिकारीले महोत्सवबाट आएको रकम समाजका कमजोर तथा विशेष आवश्यकतामा रहेका वर्गको सेवामा खर्च गर्नु सङ्घको मुख्य उद्देश्य रहेको बताए। उनले शिक्षा, स्वास्थ्य, विपद् राहत तथा सामाजिक संरक्षणका क्षेत्रमा बुद्धभूमी उद्योग वाणिज्य सङ्घले निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी कार्यवाहक अध्यक्ष पौडेलले उद्योग व्यवसायसँगै सामाजिक सेवामा सक्रिय रहनु संस्थाको पहिचान बनेको बताउँदै स्थानीय समुदायको आवश्यकतालाई मध्यनजर गर्दै सहयोग कार्यक्रम अघि बढाइएको जानकारी दिए।
विद्यालयका प्रधानाध्यापक डिलाराम पौडेलले सङ्घको सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको दैनिकी सहज बन्ने र उनीहरूमा आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गरे। उनले निजी क्षेत्रबाट आएको यस्ता सकारात्मक पहलले शैक्षिक क्षेत्रलाई ठूलो हौसला मिल्ने भन्दै बुद्धभूमी उद्योग वाणिज्य सङ्घप्रति आभार प्रकट गरे।
स्थानीयस्तरमा उद्योग व्यवसायको प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा अघि बढाउँदै आएको बुद्धभूमी उद्योग वाणिज्य सङ्घ पछिल्ला वर्षहरूमा शिक्षा सहयोग, स्वास्थ्य सामग्री वितरण, विपद् राहत र मानवीय सेवामा सक्रिय रहँदै आएको संस्था हो। यसले निजी क्षेत्रको सहभागितामार्फत् समाज रूपान्तरण सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्दै आएको छ।
प्रकाशित मिति: २०८२ माघ २३ गते


