चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई यस आर्थिक वर्षमा प्राकृतिक बासस्थानमा छाडिएको छ। पछिल्लो पटक सोमबार २० गोही छाडिएसँगै हालसम्म कुल १३७ गोही नदीमा छोडिएको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ती गोही राप्ती नदीमा छाडिएका हुन्। प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई निश्चित उमेर र अवस्था पुगेपछि प्राकृतिक बासस्थानमा छाड्ने गरिँदै आएको उनले बताए। यस पटक छाडिएका गोही सबै पोथी रहेको जानकारी पनि उनले दिए।
थापा मगरका अनुसार प्रजनन केन्द्र स्थापना भएयता हालसम्म दुई हजार २०७ गोही नदीमा छाडिएको छ।
केन्द्रमा नदी किनारबाट संकलन गरिएका गोहीका अन्डा तथा केन्द्रमै रहेका गोहीबाट जन्मिएका बच्चाहरूलाई हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ। हाल गोही प्रजनन केन्द्रमा ६३० गोही रहेका छन्।
प्रकाशित मिति: २०८२ माघ २० गते


