राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुरानो संसद पुनः फर्काउने प्रयास, दबाब र धम्की कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट परेको सन्दर्भमा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका हुन्। प्रतिनिधि सभा भदौ २७ गते विघटन भएको थियो।
लामिछानेले फेसबुकमा लेखेका छन्, “मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ। हामी मत परिणाम स्वीकार्छौं तर जनविद्रोहले उखेलेर फालेको पुरानो संसद षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्दैनौं।”
उनले आ–आफ्नो राजनीतिक स्वार्थका लागि गतिविधि गर्ने छुट सबैलाई भए पनि देश कुनै एक नेताले नभई जनताले जोगाएको बताएका छन्।
उनका अनुसार जनताको बलमा मतपत्रमार्फत सुशासनको घन्टी बजाउँदै विकास, कूटनीति र अर्थ–राजनीतिको नयाँ युग सुरु गर्न चाहिएको छ। “गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ,” उनले उल्लेख गरेका छन्।
लामिछानेले ‘फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ’ भन्दै त्यसपछि आउने संसदमा प्रतिपक्ष समेत नयाँ हुनुपर्ने धारणा राखेका छन्।
उनले भनेका छन्, “फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनु पर्छ। सर्प त एउटा पनि पाल्न सकिँदैन। यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ।”
उनले केही बिचौलियाको नियन्त्रणमा रहेको देशको भविष्य लेख्ने जिम्मा जनताकै हातमा रहेको भन्दै निर्णायक भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २०८२ माघ २० गते


