कपिलवस्तु । प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ फागुन २१ लाई लक्षित गर्दै नेकपा (एमाले) का उम्मेदवार विश्राम प्रसाद चौधरी ले जनताले उठाएका विषयहरूलाई गम्भीरतापूर्वक सुन्दै चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चौधरीले निर्वाचन क्षेत्रअन्तर्गत पर्ने मायादेवी गाउँपालिका वडा नं. १ तथा कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्। भेटघाटका क्रममा उनले स्थानीयवासीका समस्या, आवश्यकता र विकाससम्बन्धी सुझाव संकलन गर्नुका साथै आगामी निर्वाचनमा सहयोग र समर्थनका लागि आग्रह गरेका छन्।
एमालेका नेता तथा संविधानसभा सदस्यसमेत रहिसकेका चौधरीले जनतासँग प्रत्यक्ष सरसल्लाह गर्दै चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउँदै जनताको विश्वास र सहभागिताबाट मात्र समृद्ध समाज निर्माण सम्भव हुने बताए।
भेटघाटका क्रममा स्थानीय नागरिकहरूले सडक, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा, रोजगारी तथा कृषिसम्बन्धी समस्या र आवश्यकता खुला रूपमा राखेका थिए। स्थानीयका अनुसार यस कार्यक्रमले स्थानीय विकास, जनस्वास्थ्य, शिक्षा, पूर्वाधार र समग्र समृद्धिका विषयमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
चौधरीले उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन्। जनतासँग प्रत्यक्ष संवाद र सहभागितालाई प्राथमिकतामा राखिएको यस अभियानले आगामी निर्वाचनमा एमालेप्रति जनविश्वास अझ सुदृढ हुने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०८२ माघ २० गते


