कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कपिलवस्तु क्षेत्र नम्बर १ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ। मुख्य प्रतिस्पर्धा एमाले, कांग्रेस, नेकपा, रास्वपा तथा स्वतन्त्र उम्मेदवारबीच केन्द्रित हुँदै गएको छ।
कांग्रेसबाट दुई पटक संसद पुगेका अतहर कमाल मुसलमान, एमालेबाट संविधान सभा सदस्य भइसकेका विश्राम प्रसाद थारु, कांग्रेसका बागी/स्वतन्त्र उम्मेदवार आशिष शर्मा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट कृष्ण बहादुर कुँवर, र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य चुनावी मैदानमा छन्। राष्ट्रिय जनमोर्चाबाट माधव भाट क्षेत्री सहित अन्य साना दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।
यस क्षेत्रमा कांग्रेसको परम्परागत पकड रहे पनि पछिल्ला चुनावी समीकरण र स्थानीय राजनीतिक अवस्थाले प्रतिस्पर्धा थप रोचक बनेको स्थानीयको भनाइ छ। एमालेले अघिल्लो जितको साख जोगाउनुपर्ने दबाब छ भने कांग्रेसका कमालले पुरानो प्रभाव पुनःस्थापित गर्ने चुनौती सामना गरिरहेका छन्।
यसबीच नेकपाका उम्मेदवार कृष्ण कुँवर को उम्मेदवारीले मुख्य दलका उम्मेदवारहरूलाई दबाब बढाएको विश्लेषण गरिएको छ। संगठनात्मक रूपमा नेकपा कमजोर देखिए पनि कुँवरको सामाजिक पहुँच, सहयोगी छवि र स्थानीय प्रभावका कारण प्रतिस्पर्धा कडा बन्न सक्ने अनुमान गरिएको छ।
स्थानीय तहका अघिल्ला चुनावहरूमा विभिन्न उम्मेदवारलाई जिताउन भूमिका खेलेको आरोप/दाबी तथा राजनीतिक ‘अंकगणित’ मिलाउन सक्ने क्षमताका कारण कुँवरलाई प्रभावशाली पात्रका रूपमा हेरिएको छ। कुँवरसँग विभिन्न दलका कार्यकर्ता तथा स्थानीय संघसंस्थाको निकटता रहेको चर्चा पनि छ।
दक्षिणी क्षेत्रका केही पालिकामा एमाले र कांग्रेसप्रति असन्तुष्टि बढेको बताइन्छ। जनप्रतिनिधि बनेपछि मतदातासँग दूरी बढेको, विकास अपेक्षित रूपमा नदेखिएको र भ्रष्टाचारसम्बन्धी आरोपहरूले स्थानीय असन्तुष्टि बढाएको स्थानीयको भनाइ छ।
कुँवरले चुनाव जितेपछि सरकारी सुविधा तथा तलबभत्ता नलिने घोषणा गर्नुका साथै आगामी पाँच वर्षभित्र क्षेत्रका विकास कार्यहरू तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो अभियानमा आफूलाई राम्रो समर्थन मिलिरहेको र चुनावसम्म यही माहोल टिके जित सुनिश्चित हुने कुँवरको दाबी छ।
चुनावी सरगर्मी बढेसँगै सबै उम्मेदवारले घरदैलो तीव्र बनाएका छन्। स्थानीयस्तरमा देखिएको नयाँ राजनीतिक समीकरणले कपिलवस्तु–१ को निर्वाचन परिणाम रोचक बन्ने संकेत देखिएको छ।
प्रकाशित मिति: २०८२ माघ २० गते


